विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आज बसेको बैठकले पूर्व केन्द्रीय सदस्य तथा मोरङ ब्यापार संघका पूर्व अध्यक्ष नविन रिजाल लाई पुनः मनोनित गरेपछि निजी क्षेत्रको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । कोशी प्रदेश अध्यक्षको निर्वाचनमा सम्मानजनक मत ल्याएर चर्चामा आएका रिजाललाई महासंघले फेरि केन्द्रीय तहमा जिम्मेवारी दिएसँगै उनको ‘कमब्याक’ लाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


केही समयअघि सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनमा रिजाल अध्यक्षका प्रत्यासी बनेका थिए । उनले प्रदेशभरका उद्योगी–व्यवसायीमाझ व्यापक दौडधुप गर्दै बलियो उपस्थिति जनाएका थिए । अन्ततः उनी उद्योगी राजेन्द्र राउत सँग पराजित भए पनि प्राप्त मत र समर्थनले उनको प्रभाव घटेको होइन, अझ बढेको विश्लेषण निजी क्षेत्रमा हुन थालेको थियो ।


मोरङ उद्योग व्यापार संघको नेतृत्व सम्हालिसकेका रिजाल लामो समयदेखि निजी क्षेत्रका मुद्दामा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यवसायीका रूपमा परिचित छन् । राजस्व नीति, भन्सार सहजीकरण, उद्योगमैत्री वातावरण र पूर्वी नेपालको आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा उनले निरन्तर धारणा राख्दै आएका छन् ।


व्यवसायिक संगठनहरूबीच समन्वय गर्ने, प्रदेशका उद्योग वाणिज्य संघहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र निजी क्षेत्रको साझा आवाज निर्माण गर्न रिजालले खेलेको भूमिकालाई महासंघभित्र सकारात्मक रूपमा लिइन्छ । विभिन्न अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनको सक्रिय उपस्थिति रहँदै आएको छ ।


महासंघको आजको निर्णयलाई धेरैले “क्षमताको पुनः सम्मान” का रूपमा व्याख्या गरेका छन् । निर्वाचनमा पराजित भए पनि संगठनभित्र आफ्नो प्रभाव, सम्बन्ध र स्वीकार्यता जोगाइराख्न सफल रिजाल अब केन्द्रीय राजनीतिमा अझ सक्रिय हुने संकेत देखिएको छ ।


निजी क्षेत्रका एक व्यवसायीले भने, “नविन रिजाल हारेर पनि कमजोर भएका थिएनन्, आजको मनोनयनले त्यो प्रमाणित गरिदियो ।” नेपाल उद्योग वाणिज्य महासंघभित्र आगामी दिनमा कोशी प्रदेशको शक्ति सन्तुलन र नेतृत्व समीकरणमा समेत यो निर्णयले नयाँ प्रभाव पार्ने अनुमान गरिएको छ ।