उमा थापा

भियना–ग्रिसमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै सञ्चालन हुन लागेको राहदानी घुम्ती सेवाको मिति परिवर्तन गरिएको छ। हवाई उडानसँग सम्बन्धित समस्याका कारण तोकिएको समयमा टोली ग्रिस पुग्न नसक्ने अवस्था भएपछि सेवा सञ्चालनको मिति सारिएको हो।

Embassy of Nepal Vienna ले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार यसअघि १७ देखि २० मार्च २०२६ सम्म सञ्चालन गर्ने तय गरिएको राहदानी शिविर अब ०२ देखि ०७ अप्रिल २०२६ सम्म सञ्चालन गरिने भएको छ। दूतावासले विकसित परिस्थितिका कारण निर्धारित समयमा सेवा दिन नसकिएको भन्दै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

दूतावासका अनुसार राहदानीका लागि आवेदन दिएका सेवाग्राहीले टोली ग्रिस पुगेपछि बायोमेट्रिक्सका लागि उपस्थित हुँदा आवश्यक कागजात साथमा ल्याउनुपर्नेछ। यसका लागि हालको राहदानी, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बारकोड स्पष्ट देखिने अनलाइन फारामको प्रिन्ट, बैंकमा राहदानी दस्तुर जम्मा गरेको प्रमाण लगायत गरी कम्तीमा चार वटा कागजात अनिवार्य रूपमा ल्याउन आग्रह गरिएको छ।

यसअघि अनलाइन फाराम भरेर राहदानी दस्तुर दूतावासको बैंक खातामा जम्मा गरिसकेका आवेदकले पुनः आवेदन दिनु नपर्ने दूतावासले जनाएको छ। त्यस्ता आवेदकलाई टोली ग्रिस पुगेपछि बायोमेट्रिक्सका लागि उपस्थित हुने मिति, स्थान र समयबारे छुट्टै सूचना प्रकाशित गरिने बताइएको छ।

त्यसैगरी, यसअघि अनलाइन फाराम भर्न छुटेका ग्रिसस्थित नेपाली नागरिकको सुविधाका लागि ११ मार्च २०२६ मा थप आवेदन खुला गरिएको दूतावासले जनाएको छ। नयाँ आवेदकले राहदानी फाराम भरेपछि तोकिएको दस्तुर अनिवार्य रूपमा दूतावासको बैंक खातामा जम्मा गर्नुपर्नेछ।

दूतावासले यसअघि आवेदन दिएका तर दस्तुर जम्मा नगरेका तथा नयाँ आवेदकलाई २२ मार्च २०२६ भित्र राहदानी दस्तुर जम्मा गरेको प्रमाण र राहदानीको प्रतिलिपि दूतावासको इमेल [email protected] मा पठाउन आग्रह गरेको छ। तोकिएको इमेलमा विवरण प्राप्त नभएमा फाराम प्रणालीमा नदेखिने र बायोमेट्रिक्स सेवा लिन नपाइने दूतावासले जनाएको छ।

ग्रिसमा बसोबास गर्ने नेपाली नागरिकलाई राहदानी सेवा सहज बनाउन दूतावासले घुम्ती सेवा सञ्चालन गर्न लागेको हो।