विराटनगर–समाचारको वास्तविकतानै नबुझी एकपक्षिय ढंगले एक अनलाईनले समाचार प्रकाशित गरेको र समाचारको स्रोत र तथ्यप्रति आपत्ति जनाउदै खण्डन गरिदिन आग्रह गर्दापनि खण्डन नगरिएको कारण आफूले विज्ञप्ती मार्फतनै उक्त समाचारको खण्डन गरेको एक पीडितले विज्ञप्ती जारी गरि जनाएका छन ।


बुधबार रातोपाटी अनलाइनमा प्रकाशित एक समाचारप्रति आपत्ति जनाउँदै मोरङका एक स्थानीय किसान सन्तोष फुयँल त्रिभुनाथले प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । जेठ २१ गते बुधबार रातोपाटी अनलाइनले खोलाजन्य पदार्थ उत्खननसम्बन्धी समाचार प्रकाशित गरेको थियो, जसमा उनीसँग सम्बन्धित व्यक्तिहरूको नाम जोडिएको थियो ।


उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, उनी खोलाजन्य पदार्थको किनबेच गर्ने पेशामा संलग्न नरहेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, “कोठामा बसेर कपोकल्पित समाचार लेखिएको छ, जसमा मेरो न त प्रत्यक्ष प्रतिक्रिया लिइएको छ न त स्थलगत अध्ययन गरिएको छ ।” पत्रकारिताको समान्य मूल्य मान्यता र नियमलाई समेत पालना नगरि मेरो तेजोबध गर्ने उद्येश्यले प्रतिशोत साध्नका लागि मेरोबारेमा अनर्गल प्रचार गरिएको समेत उनले विज्ञप्तीमा उल्लेख गरेका छन ।


उनको दाबीअनुसार, सुकुना पैनीले दुई वर्षअघि धार परिवर्तन गर्दा बयरवन–८ स्थित आफ्नो र सरु श्रेष्ठ (बन्दना कार्की) को निजी जग्गामा ढुंगा, बालुवा जस्ता खोलाजन्य पदार्थ जम्मा भएको थियो । सरु श्रेष्ठले हाल त्यही जग्गामा घर निर्माण गरिरहेकी छिन् र आवश्यक परेपछि बालुवा प्रयोग गरिएको उनले स्पष्ट पारेका छन् ।


“यो उत्खनन होइन, खेत सुधारको प्रक्रिया हो,” विज्ञप्तिमा भनिएको छ, “मैले खेत सम्याउने उद्देश्यले मात्र सामग्री हटाएको हुँ । तर, मलाई पूर्वस्वीकृति आवश्यक पर्छ भन्ने जानकारी नहुँदा पालिकालाई सूचना दिन सकिन ।”


उनले पालिकालाई सो क्षेत्रको नापजाँच गरी निष्कर्षमा पुग्न आग्रहसमेत गरेका छन् । साथै, समाचारमा प्रयोग गरिएको फोटोसमेत वास्तविक स्थानको नभई अन्य खोलाको भएको दाबी गरिएको छ । विज्ञप्तिमा पत्रकार आचारसंहिताको उल्लङ्घन गर्दै तथ्यबिनाको समाचार लेखिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ । उनले पटक–पटक समाचार खण्डन गर्न अनुरोध गर्दा पनि रातोपाटी अनलाइनले कुनै प्रतिक्रिया नदिएकोले बाध्य भएर प्रेस विज्ञप्ति सार्वजनिक गर्नुपरेको उल्लेख छ । यो विज्ञप्ती पछि पनि कुनै समाचारको खण्डन नआए आफू कानूनी उपचारमा अघि बढ्ने सन्तोषले बताए ।