विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा कोइरालाले भने, "मन्त्रीहरूलाई लाग्ने यस्तो आरोप यो पहिलो नभएको छ। आफू क्लिन छु भन्ने देखाउन पनि पदबाट हट्न आवश्यक छ।"

राजनीतिमा नैतिकताको महत्त्वलाई जोड दिँदै उनले भने, "इस्यु आएपछि आफू क्लिन छु भन्ने देखाउन पनि पद छाड्नुपर्छ। उहाँको संलग्नता नरहला तर आफू क्लिन छु भन्ने देखाउन पनि छानबिन हुन जरुरी छ।"

कोइरालाले डा. रामशरण महत, जनार्दन शर्मा, गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिएको उदाहरण दिँदै भने, "उहाँले पनि अनुसन्धानका लागि पद छाड्दा हुन्छ। पछि क्लिन चिट पाएपछि फेरि पदमा आउँदा फरक पर्दैन।"

उच्च पदस्थ कर्मचारीहरूको विषयमा बोल्दै उनले भने, "उच्च पदस्थ कर्मचारीलाई दुई वर्षे कूलिङ पिरियडमा राख्नुपर्छ। २२ देखि २३ जना सचिवहरू संवैधानिक परिषद्मा छन्। यो त उहाँहरूको पोस्ट रिटायर्डमेन्ट क्लब जस्तै भएको छ।"

हिन्दू राष्ट्र र राजतन्त्रको बहसलाई बेकार बताउँदै कोइरालाले भने, "हिन्दू राष्ट्र राख्ने, राजा ल्याउने बहस गर्नु नै बेकार हो। यो विषयमा डराउनुपर्ने कारण नै छैन। मुलुक भ्रष्टाचारमा जकडिएको छ त्यसलाई कसरी कम गर्ने भनेर बहस गर्नुपर्छ।"

नेपाली कांग्रेसको महाधिवेशनको विषयमा उनले भने, "नेपाली कांग्रेसको महाधिवेशन मंसिर भित्रै हुनुपर्छ। २०८२ को मंसिरमा महाधिवेशन गर्नुपर्छ भनेर सबैले स्टाटस लेखौं। नेतृत्वलाई दबाब दिऔं।"

गभर्नरको राजनीतिक पृष्ठभूमिको विषयमा उनले भने, "गभर्नर राजनीतिक व्यक्तित्व हुनु भयो भन्ने विषयमा ठूलो होइन। उहाँले कसरी काम गर्नुहुन्छ त्यो हेर्नुपर्छ। क्यानडाको प्रधानमन्त्री पहिले बैंक अफ इङ्गल्याण्डको गभर्नर हुनुहुन्थ्यो।"

कोशी प्रदेश सरकारमा मन्त्री नियुक्तिको विषयमा कोइरालाले भने, "कोशी प्रदेशको मन्त्री मैले नियुक्त गर्ने होइन। संसदीय समिति छ। नेताहरू छन्, उहाँहरूले नै नियुक्त गर्ने हो।"