विराटनगर–गृहमन्त्री रमेश लेखकले सुरक्षा प्रमुखहरुलाई तीस दिन भित्रमा महसुस हुनेगरि सीमावारपार हुने तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन । कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उद्योगी व्यवसायीको गुनासो सुनेपछि खुला सीमाको कारण भइरहेको तस्करी नियन्त्रण गर्न आवश्यक रहेको उल्लेख गर्दै सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन ।
बुधबार होटल एशियाटिकमा आयोजित भेलामा गृहमन्त्री लेखकले तस्करीले अपराध बढाएको र राजश्व घाटाएकाले मुलुकमा नराम्रो असर परेको भन्दै सुरक्षा प्रमुखहरुलाई तस्करी रोक्न निर्देशन दिदै नरोकीए गृहमन्त्रालय एक्सनमा जाने उल्लेख गरे ।
संविधान र गणतन्त्रका विरुद्धमा हुने कुनैपनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै कसैको छोरा भएको आधारमा कुनै पद पाउने भन्ने गणतन्त्रमा नहुने बताउदै सीडिओको छोरा सिडीओ हुन नसक्ने तर त्यसका लागि अध्ययन गरेर योग्य भएर परिक्षा दिएर पास भएपछि मात्र हुन पाउने बताए ।
जनताले गणतन्त्रको अनूभूति गर्न मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताउदै मन्त्री लेखकले त्यसका लागि कुनै पनि कम्प्रमाइज नगरि लाग्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए । लागु औषध, सवारी दुर्घटना, आत्महत्या जस्ता घटनाले चुनौति खडा गरेकाले त्यसलाई घटाउने गरि प्रहरी प्रशासन परिचालित हुनु पर्ने बताए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले पछिल्लो समय सुरक्षाका चुनौतिहरु बढ्दै गएको उल्लेख गर्दै विकासमा हुने सम्भावित सुरक्षा चुनौतिलाई सर्तक पुर्वक लिनु पर्ने बताए । आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी साइबर क्राइम, लाग औषध ओसार पसार र अवैध गतिविधिनै अहिलेको प्रमुख चुनौति भएको बताए ।
गोष्ठीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहेको थियो ।