विराटनगर–नेपाली प्लाईउड उद्योगले भारतीय गुणस्तर कै मापदण्डमा उत्पादन सुरु गरेपछि भारतको गुणस्तर हेर्ने ब्यूरो अफ इण्डीयन स्टैडर्डले (बीआइएस)ले नेपालका ४७ मध्ये १० वटा उद्योगलाई निर्यातको अनुमति दिएको छ । यस अघि विराटनगरका दुईवटा उद्योगले मात्र अनुमति पाउदा अन्य प्लाइ उद्योगहरुको उत्पादन नाकामा रोकीएको थियो । 

अहिले १० वटा उद्योगले गुणस्तरको प्रमाणपत्र पाईसकेका छन भने अन्यले तीन महिना भित्रमा पाइसक्नेछन । अहिले विआइएसको प्राविधिकहरुले नेपालका प्लाइ उद्योगहरुको गुणस्तरको परिक्षण गरिरहेका छन । मापदण्ड पुरा भएका उद्योगहरुलाई बिना कुनै रोकतोक प्रमाणपत्र दिने कार्य भइरहेको नेपाल प्लाइ उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी दिए ।   

नेपालबाट निकासी हुदै आएको प्लाइउडको गुणस्तरमा प्रश्न उठाउदै आएको ब्यूरो अफ इण्डीयन स्टैडर्डले नेपालका प्रमुख नाकाबाट भइरहेको निकासी तीन साता अघिबाट रोकेको थियो । अहिले गुणस्तर पाएका उद्योगले पठाएको प्लाईको निकासी भइरहेको घिमिरेले जनाए । तर यस अघि नै काकडभिट्टा नाकाबाट जाँचपास भएर पश्चिमबंगालको पानीटंकी नाकामा पुगेपछि गुणस्तरको कारणबाट रोकीएका ३४ वटा नेपाली ट्रक शनिबार फर्काइएका छन । अब ती प्लाई उद्योगले गुणस्तर पाएपछि पुनः प्लाईको निकासी हुने अध्यक्ष घिमिरेले बताए । 

गुणस्तरको कारण देखाउदै रोकीएका प्लाईउडको ३४ ट्रक नेपाल तिरनै फर्कीएको मेची भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालले पुष्टि गरे । प्लाइउड उत्पादक संघले दिएको तथ्यांकका अनुसार नेपालमा ३७ अर्ब ५० करोडको लागतमा ७५ वटा प्लाइ उद्योग खुलेका छन । जसले बर्षको साढे चार अर्बको तयारी प्लाई भारत निकासी गर्दै आएको छ । 

भारतको उद्योग संवर्धन तथा आन्तरिक वाणिज्य विभागले २०२४ नोभेम्बर मा जारी गरेको सूचनामा प्लाइउडका लघु, साना तथा मझौला उद्योगले २०२५ फरबरी २८ सम्म बिआइएस लिनु नपर्ने जनाएको थियो । विभागले २०२५ फरबरी २८ मा अर्को सूचना जारी गर्दै लघु, साना तथा मझौला उद्योगले आगामी मई २८ सम्म बिआइएस लिनुनपर्ने जनाएको थियो । उक्त अवधिमा उद्योगहरुले आफ्‌नो गुणस्तर बढाएर विआइएस स्टैर्ण्डडमा पुर्‍याउने समय सीमा दिइएको थियो । तर तीन साता अघि एकाएक प्लाइ निकासी रोकीएपछि नेपाली उत्पादनकर्ताहरु विच अन्यौल छाएको थियो ।  

नेपाली उपभोक्ताहरुको माग धानेर पनि बार्षिक रुपमा चार अर्ब ६८ करोडको निकासी समेत गर्दै आएको प्लाइउड उद्योगलाई पछिल्लो समय भारत निकासीमा बिआइएसको स्टैर्ण्डड पुरा गर्नुपर्ने प्रावधान थपिएपछि २०२५ को मई २८ तारिक भित्रमा सम्पूर्ण मापदण्ड पुरा गर्नुपर्ने नेपालका ४७ उद्योगहरुमध्ये आवश्यक स्टैर्ण्डड पुरागरेका थिए । भारतबाट प्राविधिक आएर निरिक्षण गरि अहिले स्वीकृती दिनथालेकाले तीन महिना भित्रमा यहाँका निकासी गर्ने सबै उद्योगहरुले गुणस्तर पुरा गरेको प्रमाणपत्र पाउने र निकासी सहज हुने प्लाइउड उत्पादक संघका अध्यक्ष घिमिरेले बताए । 

भन्सार विभागको तथ्यांक अनुसार भारत लगायतका मुलुकमा प्लाईउडको निकासी बढेको देखिन्छ । आर्थिक बर्ष २०७८/२०७९ मा प्लाईउड, प्लसडोर र ब्लकबोर्डको निकासी २७ करोड ६६ लाख ७२ हजार थियो । त्यसैगरि आर्थिक बर्ष २०७९/२०८० मा ४ अर्ब ६८ करोड ९८ लाख ४४ हजार बराबरको प्लाईको निकासी भएको छ । त्यसैगरि आव २०८०/२०८१ को ४ अर्ब ८६ करोड ८६ लाख २६ हजार बरबरको प्लाइ भारत निकासी हुँदा चालु वर्षको फागुन समान्तसम्ममा ६ अर्बको प्लाइउड भारत निकासी भएको भन्सारको तथ्यांक छ । उद्योगीले करिब १० अर्बको निकासी गर्ने लक्ष्य राखेको बताएका छन् । दुई हजार ५ सय प्रत्यक्ष रोजगारी रहेको प्लाईउड उद्योगले भारत बाहेकका अन्य मुलुकमा समेत निकासी गर्दै आएका छन । 

नेपाल सरकारले तयारी प्लाइउडको निकासीमा नगद अनुदान दिने निर्णय गरेपछि उद्योगीले गत आर्थिक वर्षदेखि निर्यातलाई प्राथामिकता दिएका हुन । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुका पालामा प्लाइउडको नर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय सरकारले गरेको थियो । पहाडी क्षेत्रमा पाइने उत्तिस, चिलाउने, कदम, आँप, आस्ना, कर्मा लगायतका काठको भेनियरबाट प्लाईउड निर्माण हुन्छ । जुन झ्याल ढोकाको पल्ला, पार्टेसन र फर्निचर निर्माणमा प्लाइउडको प्रयोग हुन्छ । 

प्लाईउड बोकेका ३४ ट्रक भारतीय नाकाबाट फर्काइए 

विराटनगर–फागुन २७ मा भारत निकासीका लागि  ८ करोड ५० लाख मूल्य बराबरको प्लाइउड बोकेर मेचीनाकाबाट पारि पानीटंकी नाका पुगेका ट्रकलाई तीन सातापछि भारतीय भन्सारले गुणस्तर नपुगेको भन्दै फिर्ता पठाइदिएको छ । 

भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बीआइएस) प्रमाणीकरण नभएको भन्दै नेपाली सामानलाई नाकामै रोकिदिएपछि कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न खोजिएपनि त्यो सम्भव नभएपछि मालवाहक ट्रक फिर्ता आएको मेची भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालले बताए । उनले आफूले भन्सार विभाग र वाणज्य दुतावास मार्फत भारत निकासीका लागि सहजीकरण गरेपनि गुणस्तर कायम गरिएका बाहेकका उद्योगको माल फिर्ता आएको हो । 

नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेले अहिले फिर्ता भएर आएको बस्तुपनि गुणस्तर परिक्षण पास भएपछि निकासी हुने बताए । अहिले बिआइएसका प्राविधिकहरुले नेपाली प्लाईउड उद्योगहरुको गुणस्तर परिक्षण गरिरहेको र त्यस अन्तरगत ती उद्योगहरु समेत परिक्षणबाट पास भएपछि सहज निकासी हुने उल्लेख गरे ।