विराटनगर–भारतले इन्डियन इनर्जी एक्सचेञ्ज मार्फत थप ६०० मेगावाट विद्युत आपूर्ति हुन थालेपछि पूर्वी नेपालको सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा लोडसेडिङ ६ घण्टाले घटेको छ । लोडसेडिङ घटेपर्छि उद्योगहरूले उत्पादन क्षमता बढाउँन थालेका छन । त्यसै गरि काम नभएको कारण विदामा राखिएका श्रमिकहरुलाई पुनः काममा फिर्ता बोलाउन थालेका छन ।
गत चैतमा भारतले प्रोजेक्ट स्टियरिङ कमिटी (पिएससी) अन्तर्गत दिँदै आएको ३५० मेगावाट विद्युत आपूर्ति रोक्दा यस क्षेत्रमा राती १२ घण्टा लोडसेडिङ हुने गरेको थियो । यसले गर्दा उद्योगहरूले ७०% सम्म उत्पादन घटाएर धेरै श्रमिकहरूलाई अस्थायी रूपमा विदा दिन बाध्य भएका थिए ।
लोडसेडिङ घटेपछि उद्योगहरुको उत्पादन बढेको र मजदुरहरुले थपिएको सिफ्टमा काम पाइरहेको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए । उनले अघोषित रुपमा भइरहेको लोडसेडिङको कारण उद्योगहरुले उत्पादन क्षमता घटेको थियो नै कच्चा पदार्थ समेत खेर गएर दोहोरो घाटा सहनु पर्ने अवस्था रहेको बताए । उद्योगमा अझै गुणस्तरिय विद्युतको आवश्यकता रहेकाले विद्युत प्राधिकरणले प्रशारणलाईनलाई परिवर्तन गरि बढी भारवहन युक्त बनाउनुपर्ने समेत सुझाव राउतले दिए ।
शनिबारदेखि औद्योगिक करिडोरमा विद्युत आपूर्ति बढेपछि लोडसेडिङपनि घटेको हो । मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले अहिले दैनिक ४ घण्टा भन्दा बढी नै लोडसेडिङ घटेको बताए । उनले बिद्युत आपूर्तिको एक साताको अवस्था हेरेरमात्र निश्चित रुपमा यति घण्टा लोडसेडिङ घट्यो भन्ने अवस्था रहने बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पछिल्लो समय करिडोरमा विद्यूत आपूर्ति बढेपछि दैनिक ५–६ घण्टा मात्र लोडसेडिङ हुन थालेको बताए । उनका अनुसार लोडसेडिङ घटेपछि स्वभाविक रुपमा उद्योगको उत्पादन बढ्ने र मजदुरहरुले काम पाउने अवस्था रहने उल्लेख गरे । विद्युत आपूर्ति नियमित हुन सके डिजेलबाट विद्युत उत्पादन गरेर भन्दा उत्पादन लागत कम हुने उनले बताए ।
रिलायन्स स्पिनिङ उद्योग जस्ता ठूला उद्योगहरूमा पनि लोडसेडिङ घटेर उत्पादन सुधार भएको छ । यस उद्योगमा शनिबार साँझ ६ बजेदेखि ११ बजेसम्म मात्र विद्युत कटौती भयो । जबकि यसअघि १२ घण्टा विद्युत कटौति हुनेगर्थ्यो । उद्योगका प्रशासन प्रमुख महेश पोखरेलले बताए अनुसार, लोडसेडिङ घटेपछि विदा पाएका १,५०० श्रमिकहरूलाई आइतबारदेखि काममा फर्कने आग्रह गरिएको छ ।
नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले विद्युत आपूर्तिमा आएको सुधारले औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए । उनका अनुसार, १२ घण्टाबाट ६ घण्टा लोडसेडिङ घट्दा उद्योगहरूले ३० प्रतिशत उत्पादन बढाएका छन । यो नियमति विद्युत आपूर्ति हुदै गए अझ बढ्ने उनले बताए ।