विराटनगर–दैनिक ९५ हजार सवारी गुड्ने विराटनगर महानगर पालिकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गर्ने कार्य धमाधम भइरहेको छ । कन्चनबारीमा भने जडान गर्ने कार्य सकिएको छ ।
कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ । बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकाले ट्राफिक लाईटको व्यवस्था गर्नुपरेको मेयर नागेश कोइरालाले बताए ।
प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा निकै सहयोग पुग्ने छ । महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । ती मध्ये हाल पाँच स्थानमा जडान सुरु गरिएको महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । निर्माण कम्पनीले तीव्र रुपमा कार्य गरिरहेको उनले बताए ।
महानगरले ७७ लाख रुपैयाँको लागितमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान सुरु गरेको छ । घाँस चौक बाहेकका स्थानमा जडान गर्ने कार्य सकिएपनि सुचारु हुन भने केही समय लाग्ने भएको छ । ट्राफिक लाइट जडान गर्न ठेक्का पाएको ई थ्री यार्सा जेभी काठमाडौंले हाल धमाधम कार्य गरिरहेको छ ।
ट्राफिक लाइट जडानको कार्य आगामी असोज मसान्तसम्म सकिने महानगरको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् । महानगरले ट्राफिक लाइट जडान गरेपछि विराटनगरको छ स्थानमा ट्राफिक लाइट हुनेछ ।
जसले ट्राफिक व्यवस्थापनमा समेत सहज हुने बताउदै मेयर कोइरालाले ‘बढ्दो जनघनत्वसँगै अत्यधिक सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ,’ मेयर कोइरालाले भने, ‘विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न पहिलो चरणमा ५ स्थानमा जडान सुरु भइसकेको छ ।’
सीमित ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले बताउनुभयो । अब लाइट जडानपछि भने थोरै जनशक्ति भए पनि ट्राफिक व्यवस्थापनमा केही सहज हुने उनले बताए ।