विराटनगर–नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको पहिलो कृषि एक्स्पोको १ लाख भन्दा बढि सर्वसाधारण सहित विशिष्ट व्यक्तिले अवलोकन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले मोरङ जिल्लाको कटहरी गाउँपालिका स्थित कृषि थोक तरकारी बजार केन्द्रको परिसरमा कृषि एक्स्पो २०८१ को आयोजना गरेको थियो ।
भाद्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको कृषि एक्स्पोको कोशी र मधेश प्रदेश सहित भारतका कृषि विज्ञ र किसानले अवलोकन गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले चार दिने कृषि एक्स्पोको १ लाख भन्दा बढि सर्वसाधारण, विशिष्ट व्यक्ति र कृषि विज्ञले अवलोकन गरेको बताए ।
कोशी प्रदेशका विभिन्न जिल्लाबाट आठ सय भन्दा बढि किसान समूहले कृषि एक्स्पोको अवलोकन गरेको र कृषि एक्स्पोको अवलोकन गर्न आउने सबै किसानलाई खाना खुवाइएर पठाइएको अध्यक्ष राउतले बताए । विभिन्न जिल्लाबाट कृषि एक्स्पोको अवलोकन गर्न आएका ३ सय भन्दा बढि किसानलाई खाना सहित बसोवासको व्यवस्था मिलाइएको अध्यक्ष राउतले बताए । नेपालका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) ले कृषि एक्स्पोको अवलोकन गरेका थिए । कोशी प्रदेशका दुई पूर्व मुख्यमन्त्री राजेन्द्र राई र केदार कार्कीले समेत कृषि एक्स्पोको अवलोकन गरे ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघिय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीले भाद्र २७ गते बिहीबार कृषि एक्स्पोको उद्घाटन गरेका थिए । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले भाद्र ३० गते आइतबार कृषि एक्स्पोको समापन गरेका छन् । कृषि एक्स्पोमा नेपाल र भारत गरी १ सय ३० भन्दा बढि स्टल रहेका थिए । महासंघले कृषि एक्स्पोमा सहभागि उत्कृष्ट कृषि स्टललाई आइतबार समापन समारोहमा प्रशंसापत्र प्रदान गरेका थिए ।