विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिलाले उद्यम गरे मुलुकमा आर्थिक समृद्धि आउन समय नलाग्ने बताएका छन । उनले चुला चौका समिति पारिकाएका महिलाहरुले आफैं आत्मनिर्भर भएर उद्योग र व्यवसायमा लाग्नु निकै गौरवको कुरा भएको र यसले समृद्धि राष्ट्र निर्माणमा ठुलो योगदान दिने उल्लेख गरे । 

उनले महिला उद्यमीलाई अगाडि वढाउन प्रदेश सरकारले आवश्यक सहयोग एवं प्रोत्साहन समेत गर्ने उल्लेख गरे । मोरङ उद्योग व्यापार संघ महिला उद्यमी समितिले तीजको अवसरमा  विराटनगर–९ मा आयोजना गरेको तीन दिने ‘नारी उत्सव–२०८१ व्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्रीले महिला उद्यामीहरुलाई अघि बढाउन आवश्यक नीति ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘महिलालाई व्यापार, व्यवसाय, उद्यम क्षेत्रमा  सहभागिता गराएमा समाज र मुलुकको  आर्थिक समृद्धि हुने छ ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नलाई नै गएको असारमा  १४ जिल्लाका महिलालाई नगद सहित सम्मान गरेको स्मरण गरे । उनले आगामी दिनमा सम्मान गर्ने महिलाहरुको सङ्ख्यामा थप गर्न आवश्यक निर्देशन दिएको जानकारी दिए । 

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन व्यवसायीक बनाउनु पर्ने उल्लेख गर्दै सामाजिक संरचनामा महिलालाई दोश्रो दर्जाको नागरिकको रुपमा मात्रै हेरिने परम्परालाई तोड्दै आर्थिक समृद्धिका लागि महिलालाई उद्यमी बनाउन आवश्यक रहेको उल्लेख गरे । महिला समितिले आयोजना गरेको नारी उत्सव मेलाले महिलालाई आर्थिक रुपमा समृद्ध बनाउन थोरै भएपनि भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे । 

कार्यक्रममा विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले महानगरले महिलालाई स्वरोजगार बनाउन यस वर्षदेखि विविध किसिमका शिपमुलुक तालीम केन्द्रको सञ्चालन गर्न लागेको जानकारी दिइन । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल वल्र्ड आश्माकुमारी केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।