विराटनगर–सरकारले सुनसरी मोरङ औद्योगिक करिडोरको विद्युतको माग पुरा नगरि भारत विद्युत निर्यात गर्न नहुने उद्योगीहरुले बताएका छन । सरकारले पहिले आफ्ना उद्योगहरुमा भइरहेको लोडसेडिङको अन्त्य र गुणस्तरिय विद्युत आपूर्ति नगरि विद्युतको विक्री गर्नु भनेको‘आफ्नो घर अन्धकार बनाएर अर्काको घर उज्यालो बनाउनु’जस्तो हुने प्रतिक्रिया दिएका छन । 


सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका ठुला मझौला र साना उद्योग गरि पाँचसय उद्योग संचालनमा छन । ठुला उद्योगहरु बिशेष गरेर आइरन उद्योगहरुले बढी विद्युत खपत गर्दै आएका छन । अहिले तिनै उद्योगहरुमा राती ८ घण्टासम्म अघोषित लोडसेडिङ हुने गरेको छ । आर्थिक मन्दीको कारण माग घटेको कारण त्यसैपनि उद्योगको उत्पादन घटीरहेको बेला अघोषित लोडसेडिङले उत्पादन झन घटेको र लागत बढेको नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले बताए । ट्रिपिङको समस्या हुदाहुदै लगातार विद्युत बिना जानकारी काटिदा फलामे उद्योगको मोल्डिङ मेशिन पटक पटक तताउनु पर्ने र फलाम पगाल्नु पर्ने हुदाँ एक पटकमा ८ देखी १० लाख रुपैयाँ अनावश्यक खर्च हुने गरेको उनले बताए । 


नेपाल उद्योग परिसंघले विद्युत सुधारको माग गर्दै उद्योगमन्त्री, मुख्यमन्त्री, नेपाल विद्युत प्राधिकरणका महाप्रवन्धकलाई पत्र लेखेर ध्यानाकर्षण समेत गराएको छ । परिसंघले पहिले आन्तारिक मागलाई सम्बोधन गरेर मात्र विद्युत बाहिर विक्री गर्नुपर्ने सुझाव समेत दिएको छ । परिसंघ अध्यक्ष सारडा भन्छन‘कालो बादल आकाशमा देखिनासाथ विद्युतको लाइन काटिन्छ यस्तो समस्या कहिलेसम्म रहन्छ नेपालमा?’पानी प¥यो बाढी आयो भने पनि विद्युत हुदैन । पोल ढलेर हप्तादिनसम्म विद्युत अवरुद्ध हुन्छ । गुणस्तरिय वितरण प्रणाली नबनाएसम्म यस्ता समस्या सधैं उद्योगीहरुले झेल्दै आएको गुनासो गरे ।  


स्वस्तीक आइरनका निर्देशक रमेश राठीले सरकारले लोडसेडिङको तालिका सार्बजनिक गरे राहत हुने बताए । दैनिक ८ देखी १० घण्टासम्म लोडसेडिङ भइरहेकाले उद्योगले दैनिक एक करोड भन्दा बढीको घाटा ब्यहोरिरहेको जनाए । कति बेला देखी विद्युत कटौति हुन्छ भन्ने ठेगान नहुदा मजदुरको ज्यालाको समेत भार थपिएको उनले बताए । अनिमयित विद्युत कटौतिले अहिले उद्योगको उत्पादन ४० प्रतिशतमा झरेको बताए । लगातार आठ महिनादेखी समस्या भइरहदा पनि सम्बन्धित निकाय मौन रहनु उद्योग प्रतिको हेपाहा प्रबृत्ती रहेको उनले बताए । तालिका सार्बजनिक गरेर या त सातामा ५ दिन २४ सै घण्टा विद्युत दिएपनि उद्योगहरुको क्षति न्यूनिकरण हुने उनले बताए । आन्तरिक माग धान्न नसकिरहेको बेला अन्य मुलुकलाई विद्युत विक्री गर्ने कुरा गर्नुभनेको ‘भएको बेचेर भिखमाग्नु’ जस्तै भएको टिप्पणी गरे । 


रिलायन्स स्पेनिङ मिल्सका प्रशासन प्रमुख महेश पोखरेलले अघोषित लोडसेडिङले २४ सै घण्टा चल्नुपर्ने उद्योगहरुलाई बढी असर गरेको बताए । तीन सिफ्टमा संचालित रिलायन्स अहिले दुई सिफ्टमा समिति भएको छ । उनका अनुसार एउटा सिफ्ट उद्योग संचालन उत्पादनमा ३५ प्रतिशत कटौति भएको छ । मजदुरहरुले काम पाएका छैनन । यो अवस्था रहिरहेमा उद्योगले ४०० श्रमिकलाई कामबाट निकाल्नु पर्ने अवस्था आउने पोखरेलले बताए । विद्युत अभावमा उत्पादननै बन्द हुने भएपछि एक सिफ्टका कामदारलाई सोझै असर पर्ने उनले जानकारी गराए । पहिले आफ्नो मुलुकका उद्योगलाई २४ घण्टानै विद्युत दिएर उभ्रिएपछि अरुलाई बिक्री गर्दा राम्रो हुने उनले बताए । 


हुलास वायर इष्डस्ट्रिजका लेखा प्रमुख आशुतोष यादवले फागुनमा राति ४ घण्टा मात्रै विद्युत आपूर्ति बन्द हुदै आएपनि अहिले आएर दैनिक १२ घण्टा अघोषित लोडसेडिङको सामना गर्नु परिरहेको बताए ।सरकारले निकासीमा अनुदान दिने भएपछि जिआई वायर उत्पादन गर्दै भारत निकासी गर्दै आएको उद्योगले विद्युतको समस्याको कारण अहिले उत्पादननै पुरै कटौति गर्नु परेको बताए । आफ्नै उद्योगमा लोडसेडिङ गरेर अरुलाई विद्युत बिक्री गर्नेकुरा ब्यावहारिक नहुने बताउदै सरकारले पहिले आफ्नै देशको विद्युतको मागमा ध्यानदिनुपर्ने बताए ।  


नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीडका प्रमुख रोशन खड्काले वितरण प्रणालीमा समस्या आएको बाहेक औद्योगिक करिडोरमा कुनै समस्या नरहेको बताए । हावाहुरीको कारण हुने क्षतिले भने विद्युतको नियमित आपूर्तिमा केही समस्या भएपनि अहिले माग अनुसारको आपूर्तिमा समस्या नरहेको उनले सुनाए । 

बर्षातको कारण आउने केही समस्या भएपनि यो स्थायी लोडसेडिङ भने नभएको उनले बताए । कोशी प्रदेशको विद्युतको माग ३ सय ४० मेगावाट हो । अहिले खोलामा पानीको सतह बृद्धि भएकाले विद्युतको उत्पादन पूर्ण क्षमतामा भइरहेकाले माग अनुसारको आपूर्तिमा समस्या छैन । 


कोशी, कावेली करिडोर र कुशाहा पश्चिमबाट आउने विद्युतले पूर्वको माग अनुसार आपूर्तिको व्यवस्था मिलाइएको छ । अहिले कावेली करिडोरबाट दुई सय मेगावाट विद्युत आपूर्ति भइरहेको छ । खड्काले भने‘विद्युत गृह र प्रशारण लाइनमा आउने प्राविधिक समस्याको कारण पनि विद्युतको माग र सप्लाईको सन्तुलन कहिलेकाँही विग्रने गरेको छ । तर सकेसम्म औद्योगिक करिडोरमा विद्युतको सप्लाई निरन्तर रहोस भन्ने उद्येश्यका साथ हामीले काम गरिरहेका छौं । ’  


मोरङ उद्योग ब्यापार संघका अध्यक्ष अनुपम राठीले पहिले घर भित्रको विद्युतको मागलाई पूर्ति गरेर मात्र बचेको विद्युत भारत र बंगलादेशलाई बिक्री गर्न सरकारलाई आग्रह गरेका छन । राठीले सरकारले आन्तरिक मागलाई पहिले पूर्ति गरेरमात्र विद्युत बिक्री गर्ने योजना बनाउदामात्र सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरु बाँच्नसक्ने बताए । आर्थिक मन्दीको असर उत्पादनमा परिरहेको बेला विद्युतको समेत समस्या थपिदा उद्योगहरु संचालन गर्नसक्ने अवस्था नरहने बताए ।