विराटनगर–आधा दर्जन उत्पादन मुलुक उद्योग संचालन गर्दै आएका बरिष्ठ उद्योगी राजेन्द्र राउतले उत्पादन मुलक उद्योगबाट सेवामुलक उद्योग तर्फ लगानी बढाएका छन । नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष समेत रहेका राउतले बुधबार बुढिगंगा गाउँपालिका १ मा रहेको राउत कन्ट्रक्सनको कम्पाउण्डमा २ सय ५० करोडको लगानीमा २ सय शैय्याको मल्टी स्पेसियालिटी अस्पतालको सीलान्यास गरेका हुन । 

पत्रकार सम्मेलनमा राउतले प्रदेश १ का ठुला अस्पतालबाट पनि विरामी रेफर भएर भारत जानुपर्ने बाध्यता रहेको आफूले धेरै पहिले देखी मनन गर्दै आएको र त्यसरी भारत जाने विरामीका लागि नेपालमै उपचार किन नगर्ने भन्ने उद्येश्यका साथ अस्पताल खोल्न लागेको जानकारी दिए । नेपालबाट रेफर गरिएका विरामीलाई भारतमा होइन नेपालमै गुणस्तरिय उपचार गरिनुपर्छ भनेर नै अस्पतालमा आफूले लगानी गरेको उनले जानकारी दिए । 

२४ महिना भित्र अस्पतालको निर्माण सकेर २६ महिनामा सफ्ट ओपनिङ गर्ने लक्षका साथ सुरु गरिएको अस्पताल निर्माणको काम दिन र रात दुबै समयमा गरिने छ । अस्पतालको छतमा हेलिप्याड समेत राखिएको छ । २ विगा जमिनमा अस्पताल खोलिएको हो । 

RR hospital 2

राउतले १०० शय्याबाट अस्पतालको सञ्चालन सुरु गर्ने र केही समयमै २०० शय्यामा विस्तार गरिने जानकारी दिए । दिर्घकालिन रुपमा अस्पताललाई ३०० शय्याको बनाइनेछ । ‘अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर २४ सै घण्टा कार्डियाक इमर्जेन्सी र क्याथ ल्याब सेवा उपलब्ध गराउनेछ राउतले बताए ।

‘अस्पतालमा मुटुसँगै मधुमेह र ग्यास्ट्रो इन्ट्रोलोजीका लागि छुट्टै रिसर्च सेन्टर बनाइनेछ’ उनले भने, ‘यसका साथ जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मूत्ररोग, स्त्रीरोग तथा प्रसूती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नसाको विशिष्टीकृत उपचार गराउने योजना छ ।’ अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि नर्सिङ कलेज सञ्चालनमा ल्याउने उनको योजना छ ।

उद्योगी राजेन्द्र राउतका जेठा छोरा एवम् आर.आर. इन्टरनेशनल अस्पतालका निर्देशक प्रतिक राउतका अनुसार सुरुमा २ सय बेडको अस्पताल निर्माण गरिनेछ । दोस्रो चरणमा २ सय बेडको अस्पताल सञ्चालन हुनेछ । त्यसपछि अस्पतालको सम्पूर्ण निर्माण कार्य पुरा भई सकेपछि ३ सय बेडको अस्पताल सञ्चालनमा आउनेछ ।

सिमेन्ट र जुत्ताचप्पल उद्योग सञ्चालन गरिरहेको राउत नेतृत्वको शिवम् ग्रुपले मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा खानी सञ्चालन गरिरहेको छ । ग्रुपले हेभी इक्विपमेन्टको रेन्टल कारोबार र पेट्रोलियम व्यवसाय पनि सञ्चालन गर्दै आएको छ ।

शिवम् ग्रुपले काठमाडौँमा पाँचतारे होटल निर्माण गरेर सञ्चालनको तयारीमा रहेको राउतले बताए । यस्तै विराटनगरमा पनि स्तरीय होटल र हाउजिङमा काम गरिरहेको उनले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश अध्यक्ष, महासंघको स्थायी समिति सदस्य रहेका राउत सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य पनि हुन् ।