विराटनगर–विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले औपचारिक क्षेत्रका मात्र नभएर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्ने बताएका छन ।  


छैटौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेसम्म औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई मात्रै कोषले समेटेको बताए । उनले कोषले उद्योगमा कार्यरत मजदुरलाई मात्रै नसमेटेर पसललगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि कोषमा समेट्नुपर्नेमा जोड दिए । 


उनले भने‘अहिलेसम्म कोषले ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमिकलाई मात्रै समेटेको पाइएको छ, अनौपचारिक क्षेत्रका श्रमिकलाई त अहिलेसम्म कोषले छोएकै छैन ।’कोशी प्रदेशमा रहेका ९० हजार १ सय ९२ रोजगारदातामध्ये हालसम्म १ हजार ९ सय २५ रोजगारदातामात्रै कोषमा सहभागी भएको कोइरालाले उल्लेख गरे । हालसम्म कोशी प्रदेशमा ४६ हजार ६ सय ४८ मजदुरहरु मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध भएका र धेरै संख्यामा मजदुरहरु यसमा छुटेकाले सम्बन्धित सबै पक्षले कोषमा समेट्नका लागि आवश्यक पहल गर्न आग्रह गरे । 


कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा औपचारिक क्षेत्रमा २७ र अनौपचारिक क्षेत्रमा ७३ प्रतिशत श्रमिक कार्यरत रहेको जानकारी दिए ।  ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा श्रमिक आबद्ध भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले बताए । 


त्यस्तै जिफन्ट कोशी अध्यक्ष किशोर धमलाले महानगरका १९ वटै वडामा श्रमिक डेक्स राख्न आग्रह गरे । कार्यक्रममा सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक प्रेमबहादुर महतले निजी क्षेत्रमा कार्यरत मजदुरहरु विगतमा बलहुन्जेल काम गर्ने र बल सकिएपछि घरमा बिनाकुनै आर्थिक श्रोत कष्टकर जीवन यापन गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सामाजिक सुरक्षा कोषले योगदानका आधारमा पेन्सनको सुविधा, निशुल्क औषधि उपचार, सहुलियत दरमा शिक्षा र घर कर्जा दिइरहेको जानकारी दिए ।  विराटनगर शाखा प्रमुख सौरभकुमार मिश्र, रोजगारदातका तर्फबाट महेशकुमार श्रेष्ठ, आश्रित परिवारका तर्फबाट वसन्ती चौधरीले मन्तव्य व्यक्त गरे । 


सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनालगायत समेटेको छ । हालसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।