विराटनगर–११ महिना पछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल संचालनमा आएको छ । जस्को कारण भारत लगायत तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झट सकिएको छ । 


दैनिक ६८ वटा मालवाहक घुमेर आइरहेकोमा बुधबार १६८ वटा मालवाहक एकीकृत भन्सार जाँच चौकीबाट नेपाल प्रवेश गरेका छन । जस्को कारण एउटा ट्रक र कन्टेनरको १६ हजार ढुवानी भाडा जोगिएको छ । विराटनगर भन्सारका सूचना अधिकारी रामचन्द्र ढुंगानाले नेपाल भारत एकीकृत जाँच चौकीबाट बुधबार देखी मालवाहक आउन थालेको पुष्टि गरे । 


विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले मालवाहक आएपनि आधिकारीक रुपमा पुल संचालनमा आएर मालवाहक आएको जानकारी नआएपनि घुमेर सुनसरीबाट आउनु पर्ने सवारी आइसीपी हुदै आएको र मालवाहकको संख्या बढेको बताए । मीरगञ्ज पुल भासिदा १० महिनामा १८ अर्ब ७५ करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो । 


जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा ब्यावसायीले बुझाउदै आएका थिए । जसको कारण १० महिनामा ब्यावसायीहरुले ९ करोड ६० लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन ।  


मोरङ ब्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल संचालन गराएर नै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष नविन रिजालले आफ्नो कार्य समितिको सम्पूर्ण टिमनै पुल संचालन गर्नका लागि परिचालन गरेका थिए । भारतीय नेता तथा उच्चपदाधिकारी र नेपालका प्रधानमन्त्री देखी पराराष्ट्र मन्त्री सम्मलाई ज्ञापन पत्र बुझाएका रिजालको टिम अन्तत सफल भएको छ । ११ महिना पछि पुल संचालनमा आएको छ । पुरानो बेलीब्रिज नभई नयाँ आरसीसी मोटरेबल पुल संचालनमा आएपछि विराटनगर जोगवनी नाकाको आइसीपीबाट बुधबार देखी निर्वाध आवत जावत सुरु भएको हो । 


मोरङ ब्यापार संघका महानिर्देशक कृष्ण रेग्मीले मीरगञ्ज पुल संचालनमा आएपछि ढुवानी भाडामा कटौती हुदा औद्योगिक उत्पादनमा समेत लागत घट्ने बताए । उनले सहज ढुवानीले औद्योगिक उत्पादनमा समेत सहजता उत्पन्न हुने र उत्पादन समेत बृद्धि हुने बताए ।  


भारतको ल्याण्ट पोर्ट अथोरिटी जोगवनीका कार्यालयका प्रमुख रत्नाकर यादवले मीरगञ्जको पुल तयार भएको कारण अब यहाबाट नै मालवाहक संचालन गर्न सकिने देखिएपछि मंगलबार रातीबाट आइसीपीबाट नै आवत जावतको अनुमति दिएको बताए । पुल र ओभर फ्लाईको केही काम बाँकी रहेपनि मालवाहक सवारी आवत जावतमा समस्या नहुने भएपछि लामो यात्रा तय गर्नु भन्दा यहिबाट छोटो बाटो खुला गरिएको बताए । औपचारिक रुपमा दुबै भन्सार कार्यालयलाई पत्राचार हुन बाँकी रहेपनि अब भीमनगर भाण्टावारी नाकाबाट मालवाहक आउन र जान बन्द हुने र एकीकृत जाँच चौकीबाट नै आउजाउ सुरु हुने जानकारी दिए । उनले मंगलबार राती १६० भन्दा बढी मालवाहक नेपाल भन्सार तर्फ गएको जानकारी दिए ।  


राजश्व संकलनमा कमी 


११६ किलोमिटर पश्चिममा रहेको सुनसरीको भन्टावारी नाकाबाट रिरुट भएर विराटनगर भन्सारसम्म आउदा ब्यापारमा २५ प्रतिशतले गिरावट आएको थियो । पुल भासिनु अघिसम्म विराटनगर भन्सार कार्यालयलयले दैनिक १४ करोड ५० लाख राजश्व संकलन गर्दै आएको थियो । पुल भासिनु, भारतसंगको उधारो ब्यापार बन्द हुनु र आर्थिक मन्दीको कारण अहिले दैनिक १० करोड मात्र राजश्व संकलन भइरहेको छ । 


विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाका अनुसार २०७८ पुस २२ गते मीरगञ्जको पुल भासिएपछि विराटनगर नाकाको ब्यापार २५ प्रतिशत घटेको हो । यहाँबाट हुने ब्यापार मेची भन्सार लगायतका भन्सारहरुबाट हुन थालेको हो । ४ किलोमिटरमा आएको सामान ११६ किलोमिटर घुमेर फेरि विराटनगर भन्सारबाट जाँचपास भएर जानु पर्ने भएकाले ढुवानी भाडाको कारण पनि कतिपय उद्योगी व्यावसायीले सामान मगाउन कम गरेको कारण पनि कारोवारमा कमी आएको उल्लेख गरे । 


पुल र अन्य कारणले १४ करोड ५० लाखको २५ प्रतिशत ३ करोड ६२ लाख ५० हजार मूल्य बराबरको दैनिक ब्यापार घटेको छ भने मासिक रुपमा एक अर्ब ८७ करोड ५० लाख कारोबारमा कमी आएको छ । पुल भासिनु अघि दैनिक ४ सय गाडी सामान विराटनगर भन्सारबाट जाँचपास हुन्थेभने अहिले दैनिक २०० को हाराहारीमा मात्र मालवाहकको जाँचपास हुने गरेको भन्सार प्रमुख सापकोटाले जानकारी दिए । पुल भासिएपछि देखी अहिलेसम्म १० महिनामा १८ अर्ब ७५ करोडले विराटनगर भन्सारबाट हुने कारोवारमा कमी आएको छ ।  


मर्मत भएको बेलीब्रिज र उक्त ब्रिज भन्दा दुई सय मिटर उत्तरमा बनेको आरसीसी ढलान युक्त पुल निर्माण सम्पन्न भएपनि संचालनमा नआउदा नेपाल सरकारले १० महिनामा १८ अर्ब ७५ करोड गुमाइरहेको छ भने नीजि क्षेत्रले रिरुट भएर आउदा ११६ किलोमिटरको प्रत्येक गाडीलाई थप १६ हजार थप ढुवानी भाडा तिरिरहेका थिए  । दैनिक २०० मालवाहकको ३२ लाख रुपैयाँ अतिरिक्त भाडा तिरिरहेका छन भने यो मासिक रुपमा ९ करोड ६० लाख रुपैयाँको अतिरिक्त ढुवानी भाडा तिर्न उद्योगी व्यवसायी बाध्य भएका थिए ।  


मोरङ ब्यापार संघले पुल संचालनको बिषयलाई लिएर नेपालका प्रधानमन्त्री, पराष्ट्रमन्त्रीका साथै भारतीय प्रशासक, नेताहरु तथा स्थानिय विधायक, केन्द्रिय गृहमन्त्री अमित साह समेतलाई ज्ञापन पत्र बुझायो । सबैतिरबाट आवश्वासन आएपनि पुल संचालन हुन नसक्दा उद्योगको लागत बढेर गएको र त्यसको असर बजारमा समेत परिरहेको अवस्था रहेको संघका अध्यक्ष नविन रिजालले बताए । सरकारले प्रभावकारी कुटनीतिक पहल गर्न नसक्दा एक महिनामै समस्या समाधान हुनु पर्नेमा ११ महिना लागेको बताए । 


२०७२ सालमा आएको बाढीले पनि मीरगञ्ज पुल भासिएको थियो । त्यो बेलामा पनि जोगवनी नाकाबाट हुने आयात निर्यात ६ महिनमासम्म वीरपुर नाका हुदै सुनसरीको भान्टावारी नाकावाट गरिएको थियो । त्यसवेला भारतले पुल मर्मत गरेर पूर्ण भार वहन क्षमतामा सञ्चालन गरेको थियो ।


त्यसैगरी यहाका उद्योगी व्यवसायीले भारतको पटना स्थित कष्टम विभागका कमिश्नर रञ्जीत कुमार, डिप्युटी कमिश्नर, अररियाका डिएम र भारतीय गृहमन्त्री अमित साहलाई भेटेर मिरगञ्जको क्षतिग्रस्त पुल नजिक निर्माण सम्पन्न भएको पक्की पुल सञ्चालनमा ल्याएर जोगबनी नाकाको आयात निर्यात खुलाउन आग्रह गरेपनि अहिले सम्म सुनुवाई हुन सकेको छैन ।