विराटनगर–देशमा दोश्रो ठुलो शहरको रुपमा रहेको विराटनगर अहिले छैठौं स्थानमा पुगेको कारण विराटनगरको पुरानो शाख फर्काउन अहिलेकै स्थानमा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनु पर्ने र विमानस्थलको मुआब्जाको समस्या समाधानका लागि आफुले पहल गर्ने नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले प्रतिबद्धता जनाएका छन । 

विराटनगर ४ का सुकुम्बासी र अब्यवस्थित बसोवास, सडक, ढल लगायतका समस्याको समेत समाधानका लागि आफुले पहल गर्ने र महानगरले गरिरहेका तर सम्पन्न हुन बाँकी योजनाहरुलाई चाडो सम्पन्न गर्न आफुले पहल गर्ने उल्लेख गरे । इक्राहीको पोखरी चोक देखी पश्चिम रिङरोड सम्मको सडकको केहीभाग ग्राभेल रहेकोमा त्यसलाई तत्कालै पिचका लागि महानगरमा के भइरहेको भन्ने बारे बुझ्ने बताए । कंचनबारीबाट सुनसरीको इनरुवा सम्म चारलेनको बाटो भित्र त्यो पर्ने भएकाले तत्कालै काम हुनुपर्नेमा प्राविधिक कारणले केही ढिला हुन गएको तर नालाको कामभइरहेकाले तत्काल पिच हुने पूर्व वडाध्यक्ष देवेन्द्र पोखरेलले बताए । 

विराटनगर विमानस्थलबाट विस्थापित हुनेहरुलाई उचित मुआब्जा दिन र त्यसको काम छिटो गर्न अफुले प्रदेश सरकार र केन्द्रिय सरकारसंग कुरा गर्ने मेयरका उम्मेदवार कोइरालाले बताए । उनले नगरपालिकाले छुट्याउनु पर्ने बजेट एकै पटक छुटेयाउन नसकेपनि लगातार गरेर प्रत्येक आवमा छुट्याउदै जाने र संघिय सरकारबाट अनुदान ल्याएर भएपनि मुआब्जाको महानगरको दायित्व पुरा गर्ने बताए । 

विराटनगर विमानस्थल क्षेत्रीय स्तरको विस्तार गर्न १ सय २६ विगा जमिन अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले दुई बर्षदेखी रोक्का राखेको छ । संघिय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत मुआब्जा दिनेगरि त्रिपक्षिय सम्झौता भएको थियो । तर अहिले सम्म कुनैपनि तहका सरकारले मुआब्जाको रकम नछुट्याएको कारण विराटनगर ४ का ३५० घर परिवारको जग्गा रोक्का छ । उनीहरुले दुईबर्षदेखी आफ्नो घर जग्गा खरिदबिक्री गर्न, बैंकीङ कारोबार गर्न पाएका छैनन । 

विराटनगर विमानस्थल पीडित संघर्ष समितिका संयोजक वेदराज पौडेलले कोइरालाको प्रतिबद्धता सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले आउदो बजेटमा नै तीन तहकै सरकारले विमानस्थलबाट रोक्का जमिनको मुआब्जाका लागि बजेट बिनियोजन नभएर आफुहरु आन्दोलनमा जाने तयारी गरिरहेको जानकारी दिए ।