विराटनगर–आसन्न स्थानीय निर्वाचनका लागि प्रचारप्रसारलाई तीव्रता दिएको नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीले साथ दिने भएका छन् । 

विराटनगर–११ स्थित नयाँगुद्री बजारमा कार्यक्रम आयोजना गरेर कांग्रेसका तर्फबाट विराटनगर महानगरका लागि मेयरका उम्मेदवार नागेश कोइराला र गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई जिताउने प्रतिबद्धता जनाएका छन् । गुद्री बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष पशुपति भगतले विराटनगरवासीका मन र मुटुमा बसेका नागेश कोइरालालाई जिताउन आफूहरु लागिपर्ने बताए । “विराटनगरको विकास र समृद्धिका लागि नागेश कोइरालाले जित्नुपर्छ,” उनले भने, “कोइरालालाई जिताउन हामी लाग्नेछौं ।” दुःखसुखमा सबैलाई साथ दिने र सबैका प्रिय भएकाले कोइरालालाई विराटनगरवासीले रुचाएको उनको भनाइ थियो । 

त्यस्तै व्यवस्थापन समितिका सचिव सहाहेव मोहम्मद गुड्डु मियाँले गुद्रीबजारका व्यापारीले मात्रै नभएर विराटनगरवासीले कोइरालालाई  मत दिने दाबी गरे । “नागेशजीमा न त लोभ छैन, उहाँमा काम गर्ने जोश छ, विराटनगरवासीका लागि केही गरौं भन्ने योजना छ,” उनले भने, “नागेश कोइराला मात्रै होइन गठबन्धनका अमरेन्द्र यादवलाई पनि हामी जिताउँछौं ।” कार्यक्रममा मेयरका उम्मेदवार नागेश कोइरालाले विराटनगर–११ स्थित गुद्रीलाई व्यवस्थित बनाउन लागि पर्ने बताए । कोइरालाले आफूले जिते गुद्री बजारलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाए । उनले तरकारी व्यापारी र कृषकका समस्या समाधान गर्न आफू लागिपर्ने बताए । “गुद्रीबजारलाई व्यवस्थित र आकर्षक बनाउन म लागिपर्नेछु,” कोइरालाले भने, “मैले तपाईंहरुकै सेवा गर्न उम्मेदवारी दिएको हुँ । अब तपाईंहरुको हातमा छ जिताउने जिम्मा ।” 

विराटनगरलाई गर्व गर्न र भावीपुस्ताले सम्झन लायक बनाउने उनको भनाइ थियो । उनले डुबान समस्या, गुद्रीको फोहोर व्यवस्थापन, शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले महानगरस्तरीय अस्पताल निर्माण गरेर महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । 

त्यस्तै गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले विराटनगरवासीको मुहारमा मुस्कान देखिने गरी आफूहरुले काम गर्ने दाबी गरे । उनले गुद्रीमा फ्लड लाइड, शौचालय, फोहोर व्यवस्थापनलगायतका काम गर्ने प्रतिबद्धता जनाए । “यो गुद्रीबजार अहिले निकै नै अव्यवस्थित छ,” उनले भने, “हामीले जितेको ६ महिनाभित्रै यहाँको आमूल परिवर्तन गर्नेछौं ।” कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि नागेश कोइरालासहित गठबन्धनका उम्मेदवारले जित्नुपर्नेमा जोड दिए । कम्युनिष्टबाट जनता आजित भएको चर्चा गर्दै यस पटकको निर्वाचनमा कांग्रेसले जसरी पनि जित्नुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले विराटनगरका सबै वडासहित मेयर र उपमेयरमा गठबन्धनले नै जित्ने दाबी गरिन । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सचिव जितेन्द्र गोल्छा, विराटनगर–११ का लागि वडाध्यक्षका उम्मेदवार रामसुन्दर राजवंशीलगायतले मन्तव्य व्यक्त गरे ।