विराटनगर–सुनसरी मोरङ औद्योगिक करिडोरमा एक सातादेखी अघोषित रुपमा १४ घण्टा लोडसेडिङ हुन थालेपछि उद्योगहरुको उत्पादन ४० प्रतिशतमा खुम्चिएको छ । तरलताको अभाव, बढ्दो ब्याजदर र रुस युक्रेन युद्धको असर खेपीरहेका उद्योगलाई फेरि विद्युतको समस्या झेल्नु पर्ने देखिएको छ ।


नेपाल विद्युत प्राधिकरणले भारतबाट खरिद गरि ल्याएको बिद्युत मंहगो परेको भन्दै एक मेगावाट विद्युत खपत गर्ने र सो भन्दा माथि खपत गर्ने उद्योगहरुमा विद्युत आपूर्ति विना तालिका बन्द गरिदिएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरु त्यसको प्रतिकारमा उत्रने भएका छन ।


मोरङ ब्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि नेपाल विद्युत प्राधिकरणको अनौठो ब्याबहार प्रति रोश ब्यक्त गर्दै सडक आन्दोलन गर्नु पर्ने अवस्था आएको बताएका छन । उनीहरुले सरकारले विभिन्न वहानामा नीजि क्षेत्रलाई १० बर्ष पछिको अवस्थामा पुर्‍याउने षड्यन्त्र गरेको आरोप लगाएका छन ।


त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रेस विज्ञप्ती जारी गर्दै अप्रत्यासित रुपमा १४ घण्टा उद्योगको विद्युत आपूर्ति बन्द गरिदा उद्योगहरुको उत्पादन घटेको, मजदुरहरु बेरोजगार हुनु पर्ने अवस्था आएको र बैंकको व्याज समयमा तिर्न नसक्ने अवस्थामा उद्योगीहरु पुगेकाले सरकारले उठाउने राजश्व समेत यसले प्रभावित हुने भएकाले विद्युतको समस्याको तत्काल समाधान गर्न आग्रह गरेको छ ।


पत्रकार सम्मेलनमा मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले विद्युतको मूल्य बढ्ने अनि आयल निगमले डिजेलको मूल्य पनि बढाउने दुबैको मार उद्योगीले खेप्नु परेको बताउदै विद्युतको मूल्य बढ्दा उद्योगीले सस्तोमा डिजल किन्न पाउनु पर्ने र डिजलको मूल्य बृद्धि हुदा विद्युतको मूल्यमा सहज हुनुपर्ने बताए ।


राज्यले फजुल खर्च घटाएर अहिलेको विषम परिस्थितिलाई सहज बनाउदै लानुपर्ने बताउदै रिजालले बैंकको नाफा घट्ने बित्तिकै चिन्तित हुनु पर्ने अवस्था नरहेकाले अहिले संस्थागत व्याजदर ६ प्रतिशत कायम गरि ४० अर्ब संस्थागत बचललाई बजारमा ल्याउनु पर्ने बताए ।


उद्योग संगठनका अध्यक्ष सुयसराज प्याकुरेलले ११ बजेर ५९ मिनेट जादा सम्म सरकार विद्युतको खपत बढाउनोस भनेर अनुरोध गर्ने अनि १२ बजेपछि विद्युत आपूर्तिमा गम्भिर संकट उत्पन्न भइहाल्ने अनौठो हतकण्डा सरकारले अपनाएको बताए । १२ घण्टा विद्युत आपूर्ति बन्द गर्न नहुने र सरकारले मंहगो समयको विद्युत खरिद गरि उद्योगीलाई जबरजस्ती लाद्ने काम गर्न नहुने बताए । उनले भने‘राज्यले समस्या भयो भनेर हात उठाउन मिल्दैन, उचित समाधान तत्काल दिनु पर्छ ।’


नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले विद्युत, बैंक ब्याज, र तरलताको अभावमा उद्योगहरु बन्द हुने. अवस्था आएकाले उद्योग बन्द हुदा मजदुर बेरोजगार हुने, समयमा बैंकको किस्ता तिर्न र सरकारलाई कर तिर्न नसक्दा राज्यको आय घट्ने भएकाले बेलैमा सरकारले यो समस्याको समाधान खोज्नु पर्ने उल्लेख गरे ।


संविधान सभा सदस्य तथा मोरङ ब्यापार संघका पूर्व अध्यक्ष पवनकुमार सारडाले आफुहरुलाई सरकारले झुक्याएको बताए । बैंकले ऋण दिन्छौं उद्योग थप्नोस भन्ने पछि ब्याज दोब्बर बढाउने अनि विद्युतको खपत बढाउन प्लान्ट थप्नोस भन्ने अनि विद्युतमा १४ घण्टा लोडसेडिङ गर्ने सरकारको दोहोरो चरित्रले उद्योगीलाई ऋणको भासमा ढुवाउने काम गरेको बताए । १० बर्ष अगाडीको अवस्थामा औद्योगिक क्षेत्रलाई धकेल्ने काम भएको उनले आरोप लगाए ।