विराटनगर-नेपाली कांग्रेसले स्थानिय तहको निर्वाचनलाई लक्ष्य गरेर घोषणा गरेको एक महिने ‘घर घर जाऔं कांग्रेसलाई जिताऔं’ कार्यक्रमको मोरङ जिल्लामा पनि आइतबारबाट शुभारम्भ गरेको छ । विराटनगर महानगर पालिकाको वडा नम्बर ८ भगवती थानबाट नेपाली कांग्रेसले अभियानको शुभारम्भ गरेको हो । 

कार्यक्रमको शुभारम्भ पछि नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै अभियानका मोरङ प्रतिनिधि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेसको यो अभियानलाई टोलटोल सम्म पुर्‍याउने दायित्व मोरङ जिल्लामा आफूले लिएको बताए । आवश्यक परेको बेला कांग्रेस जहिले पनि एक भएको इतिहास रहेकाले महाधिवेशनको प्रतिष्पर्धाको कुरालाई लिएर अड्कल नकाट्न उनले आग्रह गरे । 

बुढाथोकीले कांग्रेस निर्वाचन सम्म नै एक भएर जाने विश्वास दिलाउदै उम्मेदवार र गठबन्धनका बारेमा पनि टोल कमिटि र वडा कमीटीले गर्ने निणर्य नै यो पटकको बलियो आधार भएको बताए । उनले अहिलेको गठबन्धनको सरकारलाई निर्वाचन सम्म लिएरसंगै जाने या निर्वाचनमा कांग्रेस एक्लै जाने भन्ने विषयपनि टोलबाट आएको सुझावका आधारमा तय गरिने जानकारी दिए । उनले ३० दिनको यो अभियानमा टोल, वडा र नगरले छानेका उम्मेदवार नै प्रमुख दावेदार हुने बताए । पहिले जस्तो नेताले तोकेको भरमा भन्दा यो पटक टोलले छानेको उम्मेदवारले पहिलो प्राथमिकता पाउने जानकारी दिए । 

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा संसद डा.डिला संग्रौलाले १४ औं महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अघि बढीरहेकाले अब निर्वाचनबाट नेपाली कांग्रेसलाई अब्बल दर्जाको पार्टी बनाउने र संगठनलाई ब्यवस्थित बनाउने अठोट गरेको बताइन । यो पटक राष्ट्रिय एजेण्डा पार्टीको केन्द्रिय समितिले घोषणा गरेपनि प्रदेश, जिल्ला र नगरहरुको एजेण्डाको घोषणा स्थानियस्तरबाटै हुने बताउदै संग्रौलाले कांग्रेस बिषेश परिस्थितिमा मात्र सरकारमा सहभागि भएको बताइन । उनले भनिन‘जनताले नेपाली कांग्रेसलाई प्रतिपक्षको भूमिकामा बस्न भनेपनि दुई तिहाइको बलमा संविधानमाथि पटक पटक प्रहार हुने थालेपछि संविधान र मुलुकको रक्षाका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नु परेको हो ।’ उनले टोलटोलमा जादा नेपाली कांग्रेसले स्वास्थ्य, शिक्षा रोजगारी लगायतका बिषहरुमा प्रतिबद्धता प्रकट गर्ने समेत खुलाईन । 

नेपाली कांग्रेस जिल्ला सभापति डिकबहादुर लिम्बुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला सचिव मोदराज घिमिरेले कार्यक्रम संचालन गरेका थिए । पत्रकार सम्मेलनमा उपाध्यक्ष भक्तीनाथ माझी, सचिव ललित श्रेष्ठ, प्रदेश सहमहामन्त्री प्रमिला गच्छदार, प्रेस युनियनका मोरङ अध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला सदस्य भोजराज बस्नेत, लगायतको उस्थित रहेको थियो ।