विराटनगर-रसिया र युक्रेन बिचको युद्धको कारण खाद्यान्न लगायतको कच्चा पदार्थको आयातमा समस्या भएपछि तयारी बस्तुको निकासीमा सरकारले नियन्त्रण गर्नुपर्ने उपभोक्तावादी संस्थाहरुले माग गरेका छन । 

युक्रेनबाट नेपालमा तोरीको दाना, भटमास, सूर्यमुखी तेलको क्रुड, गहँु, हरियो मटर लगायतको खाद्यान्न आयात हुदै आएको थियो । तर रसियाले युक्रेनमा आक्रमण थालेपछि भने अर्डर गरिएका सबै मालबस्तु रद्ध भएपछि नेपाली बजारमा माग बमोजिमको बस्तु उपलब्धतामा समस्या हुने भन्दै उपभोक्तावादी संस्थाहरुले सरकारले उद्योगी र व्यापारीसंग तत्काल समन्वय थालेर बजारमा अभाव हुन नदिने गरि खाद्यान्न लगायतका बस्तु स्टक गर्न र मूल्य बृद्धिलाई नियन्त्रण गर्न करका दरहरु हेरफेर गर्न समेत माग गरेका छन । 

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले आम उपभोक्ताले सुपथ मूल्यमा सुलभ तरिकाले खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तु खरिद गर्ने वातावरण बनाउन सरकारले अनुगमन गरि उद्योगी व्यवसायीसंग समन्वय गरेर कच्चा पदार्थ आयात गर्न कठिन भएका माल बस्तुको स्टक बढाउन र निकासी रोक्न कमद चाल्नु पर्ने बताए । 

उनले भने‘युक्रेन आक्रमण लगत्तै खानेतेलमा मूल्य बृद्धि गरिएको छ जुन दुई महिना पछि मात्र असर देखिनु पर्ने हो, त्यसैले बजार अनुगमन गर्दै बढेर आएको मालबस्तुको मात्र मूल्य बृद्धि हुनेगरि ब्यवस्था सरकारले मिलाउनु पर्छ ।’ युक्रेन र रसियाको द्वन्दको कारण नेपालमा उत्पन्न हुनसक्ने बजार अभावलाई समान्य अवस्थामा राखिराख्नका लागि अहिले जोडतोडले भइरहेको तेलको निकासीलाई नियन्त्रण गर्न आवश्यक रहेको छ । ढुंगेलले भने‘यदि नेपाली बजारमा खाने तेलको अभाव हुन्छ र क्रुट आयलको आयात हुन सक्दैन भने बजारमा खानेतेलको अभाव हुन नदिन निकासी रोक्नु पर्छ ।’

उपभोक्ता जागरण अभियान-नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले सरकार गैर जिम्मेवार भएको कारण उद्योगी व्यवसायीको मनोमानी बढेकाले अहिले बजारमा प्रत्येक बस्तुको मूल्य बढेको बताए । डलरको मूल्य बृद्धि, पेट्रोलियमको मूल्यबृद्धिले चौतर्फी असर गरेको तर सरकार मूल्य समायोजनका लागि तयार नभएकाले आम उपभोक्ता मंहगीको चपेटामा परेको उल्लेख गरे । 

उनका अनुसार बजारको एक बर्षको माग कति अनि त्यमा कति मेट्रिकटन कच्चा पदार्थ ल्याएर प्रशोधन गर्दा पुग्छ भन्ने अध्ययन गरेर सरकारले त्यहि अनुसारको माल बस्तु आयात गर्न दिने र स्टक गर्ने गर्नु पर्छ ताकी भोलिका दिनमा बजारमा बस्तुको अभाव नहोस । उपभोक्ताले उचित मूल्य तिर्दा दैनिक उपभोग्य बस्तु किन्न सकुन । यदि स्टकनै रित्याएर निकासी भइरहेको छ भने निकासी रोक्नु पर्छ र भण्डारण बढाउनु पर्छ । 

अघिल्लो दुई आर्थिक बर्षको बराबर यो आर्थिक बर्षको सात महिनामा प्रशोधित खाने तेलको निकासी भएको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । भन्सारका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार साउन महिनादेखी फागुन २२ गते सम्म १२ अर्ब ३४ करोड ५५ लाख ३७ हजार बराबरको पाम, भटमास, सूर्यमुखी तेलेको निकासी भएको छ । जबकी अघिल्लो आर्थिक बर्ष २०७७ साउन देखी फागुन महिनामा ६ अर्ब ४३ करोड ७४ लाख ८५ हजार बराबरको प्रशोधिन खानेतेलको निकासी भएको थियो । त्यस्तै २०७६ साउन देखी फागुन २२ सम्मको तथ्यांक अनुसार ८ अर्ब २६ करोड ३१ लाख २४ हजार बराबरको प्रशोधित खानेतेलको निकासी भएको देखिन्छ । 

विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाले राज्यका कुनैपनि निकायबाट तेलको निकासी रोक्नका लागि आफुलाई जानकारी नआएको बताए । अहिले दैनिक रुपमा पहिले जसरी नै प्रशोधित तेलको निकासी भइरहेको उनले बताए । तर संचार माध्यमहरुमा भने आफुले भोलिको बजारको मागलाई पूर्ति गर्नका लागि चाहिने स्टक गरेर मात्र निकासी गर्नु पर्छ भन्ने समाचार पढेको बताए । 

निकासीकालागि उत्पतिको प्रमाण पत्र जारीगर्ने मोरङ व्यापार संघ र  उद्योग संगठनको तथ्याङक अनुसार चलु वर्षको सात महिनामा जोगवनी नाकावाट १२ अर्ब ३६ करोड ३७ लाख २६ हजार मूल्यको रिफाइन तेल निकासी भएको छ । गतवर्ष भरी यो नाकावाट १६ अर्ब २८ करोड ५० लाख मूल्यको रिफाइन निकासी भएको थियो । अघिल्लो वर्ष ११ अर्ब ९ करोड मुल्यको रिफाइन तेल निकासी भएको तथ्याङक छ ।


भारतमा रिफाइन तेलको माग बढेकाले गतवर्षदेखि निकासी पनि बढेको हो । सम्बद्ध उद्योगीका अनुसार अहिलेकै अवस्था कायम रहे असार सम्ममा करिव २० अर्ब मूल्य वरावरको रिफाइन तेल निकासी गर्ने लक्ष्य छ । भारतले पाम आयल निकासीमा लगाएको प्रतिबन्द्ध फुकुवा गरेपछि रिफाइन तेलको निकासी बढेको हो ।  


नेपाली जुटका तयारी वस्तुमा भारतमा एन्टि डम्पिङ शूल्क पाँचवर्ष देखि लाग्दै आएपनि निकासी बढदो छ । चालु वर्षको सात महिनमा जोगवनी नाकावाट ५ अर्ब मूल्य वरावरका जुटका तयारी वस्तु निकासी भएको छ । गतवर्ष भरीमा जोगवनी नाकावाट ७ अर्ब १९ करोड मूल्यका जुटका तयारी वस्तु निकासी भएको थियो ।


नेपाली जुटका तयारी वस्तुमा भारतले पाँचवर्षदेखि एकदेखि चार प्रतिशत सम्म एन्टि डम्पिङ शूल्क लगाउदै आएपनि निकासी घटेको छैन । जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने चालु वर्ष ८ अर्ब मूल्य वरावरका जुटका तयारी वस्तु निकासी गर्ने लक्ष्य छ । उनका अनुसार भारतले एन्टि डम्पिङ शूल्क हटाउने हो भने निकासी अझै बढ्छ । नेपाली जुट उद्योगले भारत र बंगलादेशवाट कच्चा जुट आयात गरेर तयारी वस्तु भारत निकासी गर्दै आएका छन । सुनसरी मोरङ औधोगिक क्ष्ँेत्रका ११ जुट मिल मध्ये हाल ६ वटा सञ्चालनमा छन । 


जोगवनी नाकावाट निकासी हुने पिपि ओभन, नुडल्स र जिआईको निकासी भने घट्दो छ । गतवर्ष २ अर्ब ४४ करोड ४५ लख मूल्यको ओभन निकासी हुँदा यसवर्षको सात महिनामा ८३ करोड १५ लाख ७५ हजार मूल्यको मात्र निकासी भएको तथ्याङक छ । त्यसैगरी १ अर्ब ३९ करोड ४३ लाख मूल्यको जिआई निकासी हुँदा चालु वर्षको सात महिनामा २२ करोड ५८ लाख ९७ हजार मूल्यको मात्र निकासी भएको छ । त्यस्तै चालु वर्षको सात महिनामा २४ करोड ३२ लाख ३२ हजार मूल्यको नुडल्स निकासी भएको छ । गतवर्ष यो नाकावाट एक अर्ब ४ करोड ४६ लाख मूल्यको नुडल्स निकासी भएको थियो ।