विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श वीच बुधबार भगिनी सम्वन्ध स्थापित भएको छ । दुवैले सम्झौतामा हस्ताक्षर गरेका छन ।
भगिनी सम्वन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारीक समुदायको कानुनी दायरा भित्र रही आपसी सम्वन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान प्रदान गर्ने कार्यलाई प्रोत्साहन गर्ने, आपसी समन्वयमा व्यापार स्थापना गर्ने, विस्तार गर्ने, व्यापारिक अवसरहरु प्रवाह गर्ने, संघका सदस्यहरु वीच आपसमा सहज वातावरण बनाउने, आर्थिक तथा व्यापरिक सूचना एंव तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालन गर्न सहयोग गर्ने उल्लेख छ ।
साथै आर्थिक एंव व्यापरिक नीति नियम, प्रकाशन, पत्र-पत्रिका एंव व्यापारिक गतिविधिहरु आदान प्रदान गर्ने, व्यापारिक मेला, गोष्ठी, सेमिनार, सम्मेलन तथा अन्य कार्यक्रमहरु आयोजना गर्न सहज वातावरण सिर्जना गर्ने व्यापारीक लेनदेनमा कुनै पनि समस्या देखा परेमा दुबै पक्षको समन्वयमा मध्यस्थता, मेलमिलापको वातावरण सिजर्ना गर्ने, सदस्यहरु बीच प्राविधिक विशेषज्ञता, तालिमका अवसरहरुको आदान प्रदान गर्ने लगायतका बुंदाहरुमा सहमति गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री राजेन्द्र राउत र ग्रेटर चेम्वर अफ कमर्श, न्यूयोर्कका अध्यक्ष मार्क जाफी वीच भएको उक्त सम्झौतामा ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श, न्यूयोर्क, अमेरीकन बिजनेश एफेयर्स अमिर प्रताप साहले दस्तखत गरेका छन ।
ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श, न्यूयोर्क, अमेरीकाले सेम्टेम्वर २०, २०१९ मा आयोजना गरेको २० औं वार्षिक कन्फरेन्स तथा एक्पोमा यस महासंघका उपाध्यक्ष राजेन्द्र राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का उक्त कार्यक्रममा सहभागी भएका थिए ।














