विराटनगर-युक्रेन माथि रुसी आक्रमणले विश्वको अर्थ व्यवस्थामा असरपरेसंगै त्यसको असर नेपालमा समेत देखिएको छ । रुसी आक्रमणसंगै विश्वव्यापी रुपमा शेयरबजारमा त्यसको नकारात्मक असर देखिएको छ । युक्रेनबाट सोझै नेपालमा तोरीको दाना, सूर्यमुखी र भटमासको क्रुड आयल र गहँुको आयात हुदै आएको छ । जसमा प्रतिटन ३० देखी ६० डलर मूल्य बढेको छ । 

विश्वब्यापीरुपमा कोइला, पेट्रोलियम लगायतमा हुने मृल्यबृद्धिको असरसमेत नेपालमा पर्ने देखिएको छ । कोइलाको मूल्य बृद्धिले इँटा र सिमेन्ट उद्योगको उत्पादन लागत बढ्छ भने अबको एक महिना भित्र नेपालमा खानेतेलको मूल्य एक सय रुपैयाँ सम्म बढ्ने अनुमान उद्योगीहरुले गरेका छन । 

घरेलु तेलका संचालक श्रवणकुमार अग्रवालले युक्रेनबाट मगाएको तोरी नै पछिल्लो समय टनमा ३० डलर बढेर आएको थियो युद्धको कारण युक्रेनबाट तोरी मगाउन नसकिएपछि अष्टे्रलियाबाट तोरी मगाउनु परेको छ जहाँ टनमा ६० डलर मंहगो छ । युक्रेनको तेरी भन्दा मंहगो भएपनि उद्योग संचालनका लागि अष्टे्रलियन तोरी मगाउनु पर्ने बाध्यता भएको अग्रवालले बताए । अहिले अष्टे्रलियाले पनि तोरीको अर्डर बढी भएर ढुवानीमा विलम्ब हुने जनाउन थालेको छ । Ôतोरीको दाना, ढुवानीको मूल्यबृद्धि र बिलम्बको कारण तोरीको तेलको मूल्य अहिलेको मूल्य भन्दा एक सय रुपैयाँसम्म बृद्धि हुन सक्छÕ अग्रवालले भने । 

अहिले तोरीको तेलको खुद्रा मूल्य ३०० रुपैयाँ प्रति लिटर छ । एम महिना पछि नै यो मूल्य चार सयको हाराहारीमा पुग्ने छ । सूर्यमुखि २६० प्रति लिटर छ भने यो बढेर ३६० पुग्ने र भटमासको तेल अहिले खुद्रा मूल्य लिटरको २५० रहेकोमा यो पनि ३५० पुग्ने छ । अग्रवालका अनुसार युद्ध सामान्य भएमा र युक्रेनबाट पुनः तोरी लगायतको क्रुट आयात हुन थालेमा मूल्य घट्ने छ । 

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले कोइलाको मूल्यमा समेत रसिया युक्रेन आक्रमणको असर देखिएको छ । नेपालमा कोइला पठाउदै आएका कलकोत्ता बन्दरगाहका ब्यापारीहरुले अहिले कोइलामा ३० डलर मूल्य बृद्धि भएको बताएका छन । एक बर्ष अघि २०० डलर प्रतिटन रहेको कोइला अहिले २३० डलर प्रतिटन पुगेको छ । घिमिरेका अनुसार यो मूल्य २५० डलर सम्म पुग्ने अनुमान गरिएको छ । नेपालमा इटा लगायतका उद्योगले कोइला प्रयोग गर्दै आएका छन ।   

चालु आवको ७ महिनामा ११ खर्ब ४७ अर्बको आयात भएकोमा युक्रेनबाट मात्रै १७ अर्ब १७ करोडको आयात भएको छ । जुन खाने तेलको कच्चा पदार्थ लगायत आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

नेपाल आउने सूर्यमुखी तेलको क्रुड सबैभन्दा बढी युक्रेनबाट नै आउछ केही प्रतिशतमात्र रसिया र अष्टे्रलियाबाट आउछ । युक्रेनमा अन्य मुलुकभन्दा तोरी, भटमास र सूर्यमूखीको मूल्य सस्तो छ । प्रतिटन १५०० डलर परिरहेको तेलको कच्चा पदार्थ अहिले ३० देखी ३०० डलर सम्म बढेको उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले बताए । यी मुलुकको विकल्पमा छिमेकी मुलुक भारत रहेपनि अहिले भारतमा नै तेलको मूल्य बढेकाले त्यहाबाट कच्चा पदार्थ आयात गर्दा झन मंहगो पर्न जान्छ ।  

सात महिनामा युक्रेनबाट ३ अर्ब ९५ करोड ३७ लाख रुपैयाँको ४ करोड ४५ हजार किलो तोरी तेलको कच्चा पदार्थ आएको छ भने ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार किलो सूर्यमुखी तेलको क्रुड आयल आयात भएको छ । ७९ करोड ४७ लाख रुपैयाँको ४८ लाख ४३ हजार किलो भटमास तेलको कच्चा पदार्थ, ३ करोड ७५ लाख रुपैयाँको १ लाख ८९ हजार किलो सनफ्लावरको दाना आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

युक्रेनसंगै रुससँगपनि नेपाल गएको सात महिनामा १५ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु निर्यात ब्यापार गरेको छ भने  ४ अर्ब ३१ करोड २८ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ । रुसबाट प्रिन्टिङ पेपर, सवारीसाधनका लागि मोबिल, केमिकल (सोडियम फोस्फेट), पशुजन्य भ्याक्सिन, स्याम्पु, बेबी लोसन, कस्मेटिक सामानलगायत आयात भएको छ । ७ करोड ३९ लाखको कार्पेट, ६ करोड १३ लाखको चियापत्ती, ३० लाखको अगरबत्ती, ११ लाखको कपडा राख्ने ह्यांगर, साढे ६ लाखको यार्चागुम्बालगायत वस्तु निर्यात भएको छ ।

रुस र युक्रेनबिचको युद्धले सुन र पेट्रोलियम पदार्थको समेत मूल्यमा उचार चढाव आएको मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले बताए । नेपालमा सुनको मूल्य विहिबार तोलामा २५ सय बढेको शुक्रबार एक हजार घटेको उनले जानकारी दिए । त्यस्तै प्रतिब्यारेल १ सय ५ अमेरिकी डलर पुगेको कच्चा तेलको मूल्य शुक्रबार मध्यरातमा ९७ दशमल २ डलर पुगेको थियो । अन्तराष्ट्रिय रुपमा पेट्रोलिय पदार्थको दोश्रो ठुलो उत्पादन कर्ता रुस भएकाले मूल्यमा आउने उतार चढावले नेपाल पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन, खाना पकाउने ग्यासको समेत मूल्य बढ्ने सम्भावना रहेको रिजालले बताए ।