विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अमेरिकी परियोजना एमसीसी पारित हुनु मुलुकको आर्थिक विकास र समृद्धिका लागि शुभसंकेत भएको बताएका छन् । 


विराटनगरस्थित अर्याल निवासमा संवाददातासित कुरा गर्दै अर्यालले संसदबाट बहुमतले एमसीसी पारित हुँदा दातृ राष्ट्रहरूको नेपाललाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुने दाबी गरे । “एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन हुनुले दातृ राष्ट्र र दातृ निकायहरूले नेपाललाई विश्वास गर्ने वातावरण बनेको छ,” अर्यालले भने, “यदि एमसीसी अनुमोदन नभएको भए अमेरिकाले त सहयोग रोक्थ्यो नै अन्य दातृ राष्ट्र र संस्थाले पनि सहयोग रोक्थे । अनि त्यसपछिको नेपालको आर्थिक अवस्थाको कल्पना गरौं त के हुन्थ्यो ।” 


एमसीसीका बारेमा बढी हल्ला र प्रोपोकाण्ड भएको उनको टिप्पणी थियो । अर्यालले सम्झौतालाई चाँडो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । एमसीसीजस्तै छिमेकी मुलुक भारत, चीन, ईयू र अन्य दातृ निकायबाट सहयोग ल्याएर मुलुकको समग्र आर्थिक विकास गर्नुपर्ने उनले बताए । वैदेशिक सहयोग बिना मुलुकको विकास असम्भव रहेको अर्यालको कथन थियो । “रेमिट्यान्स पनि घट्दो क्रममा छ, हाम्रा उत्पादनमा पनि ह्रास आइरहेको छ,” पूर्वसांसदसमेत रहेका अर्यालले भने, “मुलुकको विकासका लागि वैदेशिक सहयोग लिनुको विकल्प नै छैन ।”


एमसीसी पारित गराउन कांग्रेसले महत्वपूणर् भूमिका खेलेको उनको बुझाइ छ । “एमसीसीलाई टुंगोमा पुर्‍याउन कांग्रेसले जुन भूमिका खेल्यो त्यसले पनि नेपाली कांग्रेस यो देशको अभिभावक पार्टी हो भन्ने प्रस्ट भएको छ,” अर्यालले थपे, “देशलाई समस्या पर्दा र अप्ठ्यारो अवस्थामा कांग्रेसले मात्रै समस्या समाधान गर्छ भन्ने पुष्टि भएको छ ।” 


एमसीसीमा नेकपा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेकोमा अर्यालले आपत्ति जनाए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको उनको आरोप थियो । “सडकमा नेता र कार्यकर्तालाई ढुंगामुडा गर्न लगाउने, टायर बाल्ने जुन सत्तारुढ दलबाटै भयो, त्यो राजनैतिक आचरणभित्र पर्दैन,” अर्यालले भने, “कम्युनिष्टहरूको चरित्र उदाङ्गो भएको छ, आगामी निर्वाचनमा पक्कै जनताले ती दलहरूलाई सजाय दिनेछन् ।” 


अर्यालले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसको बहुमत आउने ठोकुवा गरे । कांग्रेसलाई विजयी बनाउन विगतका तिक्ततालाई भुलेर संगठन निर्माणमा लाग्नुपर्नेमा केन्द्रीय सदस्य अर्यालले जोड दिए । उनले अब सबै मिलेर मुलुकको आर्थिक विकास र समृद्धिमा लाग्नु आवश्यक रहेको औंल्याए ।