विराटनगर-आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई एउटा हेलिकप्टर आवश्यक रहेको र त्यो संघिय सरकारले उपलब्ध नगराए प्रदेश सरकारले नै खरिदगर्ने बताएका छन । 

हेलिकप्टर विलासिताका लागि मन्त्री सवार हुन नभई प्रकृती विपत्तीमा घाईते भएकाहरुको उद्धारका लागि ल्याइन लागेको बताए । उनले भने‘कि त्यो संघिय सरकारसंग मागेर हुन्छ या त प्रदेश सरकारले आफैं खरिद गरेर हुन्छ हेलिकप्टरको व्यवस्था गर्छ ।’

मन्त्री कार्कीले भने ‘विपदको बेला घाइते नागरिकहरुले उद्धारको पर्खाइमै ज्यान गुमाउनु परेको दुखद घटना सयौं छन त्यसैले प्रदेश सरकारले विराटनगरमा रहनेगरि उद्धारका लागि एउटा संघिय सरकारबाट मागेर या त्यो नभए किनेर पनि ल्याउछ ।’

विपदका बेला काठमाडौंबाट हेलिकप्टर आउदा आउदै धेरै क्षति हुनेभएकाले विराटनगरमै रहनेगरि प्रदेश सरकारको मातहतमा एउटा उद्धार गर्ने हेलिकप्टर रहने मन्त्री कार्कीले बताए । सगरमाथा लगायत ८ हजार माथिका अग्ला हिमालहरु प्रदेश १ मा रहेपनि उद्धारका लागि राजधानीको मुखताक्दा उद्धारमा ढिला हुन गई विदेशी पर्यटकहरुले समेत ज्यान गुमाइरहेको उनले बताए । 

बाढी पहिरोको विपतका बेला, पर्यटकहरु पदमार्गमा फसेको बेला वा अन्य कुनै विपतमा प्रदेश सरकारले हेलिकप्टरका लागि काठमाडौंकै मुख ताक्नु पर्ने अवस्था रहेकाले त्यो अवस्था अन्त्यका लागि प्रदेश सरकारलाई संघिय सरकारले एउटा हेलिकप्टर दिनु पर्ने या त खरिदका लागि बजेटको व्यवस्था गरिदिनु पर्ने मन्त्री कार्कीले बताए । एउटा हेलिकप्टर १५ देखी २० करोड रुपैयाँमा किन्न सकिने भएकाले संघिय सरकारले बजेटको व्यवस्था गरिदिए प्रदेश सरकारले नै हेलिकप्टर किन्ने उनले बताए । 

गत बर्षको बाढी पहिरोले प्रदेश १ मा ७२ जनाको मृत्यू भएको उल्लेख गर्दै मन्त्री कार्कीले समयमा पहिरो गएको स्थानमा हेलिकप्टर पुग्न सकेको भए घाईतेले ज्यान गुमाउनु पर्ने अवस्था आउदैनथ्यो भन्दै पाँचथरमा भएको बस दुर्घटनाका घाईतेलाई पनि समयमा उद्धार गरेर विराटनगर ल्याउन सकेको भए उनीहरुले पनि अकालमा ज्यान गुमाउनु पर्ने थिएन । तर विराटनगरबाट प्रदेश १ का सबै स्थानमा ४० मिनेट देखी एक घण्टा भित्रमा हेलिकप्टर उद्धारका लागि पुग्ने तर राजधानीबाट मगाउदा तीन घण्टा लाग्ने भएकाले प्रदेश १ का नागरिकहरुले हेलिकप्टर कुर्दाकुर्दै ज्यान गुमाउनु पर्ने अवस्था रहेकाले अब प्रदेश सरकारले एउटा हेलिकप्टरको ब्यवास्थागर्ने उल्लेख गरे । उनले खरिद गरेर या संघिय सरकारबाट भएपनि नेपाल प्रहरीको मातहत रहने गरि एउटा हेलिकप्टर प्रदेशमा रहने जानकारी दिए । 

प्रत्येक गाउँ पालिकाका प्रत्येक वडामा हेलिप्याड निर्माण गरि विपदका बेलामा हेलिकप्टरबाट सहज उद्धारको वातावरण निर्माण गर्न आफुलागि पर्ने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।   

मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कार्कीले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राखे । उहाँले आफू मन्त्रालय सम्हालेको  ६४औँ दिनभएको बताउँदै ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो रहेको र त्यस अनुरुप काम अघि बढिसकेको बताए । मन्त्री कार्कीले झापाको मेचीनगर नगरपालिकामा एक हजार शय्याको होल्डिङ सेन्टर छिट्टै सञ्चालनमा आउने जानकारी दिँदै प्रदेशको १४ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउने कार्य अघि बढिसकेको उल्लेख गरे । 


उनले आपराधिक घटनामा संलग्नलाई कानुनको दायराभित्र ल्याउने भन्दै निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि गर्ने समूहको गतिविधिलाई निस्तेज पार्ने उल्लेख गरे । प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागूऔषध विरुद्ध अभियान पनि सञ्चालन गर्ने भन्दै विपद् व्यवस्थापनमा जनतालाई पनि जिम्मेवार बनाउने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । मन्त्री कार्कीले प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानुनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने भन्दै प्रदेशका कानुन अदालत र वारसम्म पुर्‍याउनु आवश्यकता देखिएको धारणा राखे । 


न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना गर्ने भन्दै सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिएको बताए । मन्त्री कार्कीले भने ‘सडक अपराध गर्नेलाई बचाउन मेरो फोन आएपनि वास्ता नगरि कारवाही गर्नोस ।’ ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ रहेको भन्दै मन्त्री कार्कीले ‘हाम्रो अभियान स्वभिमानी प्रदेश निर्माण ।’ रहेको समेत उल्लेख गरे । 


मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए । प्रदेश सरकारले राजपत्र प्रकाशित गर्न पनि राजधानीको मुख ताक्नु पर्ने या अन्यत्र धाउनु पर्ने अवस्थाको अन्त्यका लागि मेशिन खरिद गर्न लागिएको हो ।