विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब र साइनो स्पोर्टिङ क्लब विजयी भएका छन् । 


मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा उर्लाबारीले नव प्रगतिशिल सेवा समाजलाई ४-१ गोलअन्तरमा पराजित गरेको छ । उर्लाबारीको जितका लागि सौरोज राउतले ह्याट्रिक गरे । दोस्रो खेलमा साइनोले युनाइटेड स्पोर्टिङ क्लबलाई ३-२ गोलमा पराजितत गरेको छ । साइनोका उत्तम शर्माले ह्याट्रिक गर्दै जित निकाले । 

 

आइतबारको पहिलो खेलमा उर्लाबारीका संजय धिमालले १६ औं मिनेटमा गोल गरे । उर्लाबारीका सौरोज राउतले खेलको ५५, ७२ र ७४ औं मिनेटमा ह्याट्रिक गोल गरेका थिए । एक मात्र सान्तवना गोल समाजका लागि इन्द्र राईले ७६ औं मिनेटमा गरे । खेलको म्यान अफ द म्याच सौरोज राउत घोषित भए । 


त्यसैगरी, दोस्रो खेलमा ८ औं मिनेटमा साइनोका उत्तम शर्माले गोल गरे । १८ औं मिनेटमा युनाइटेडका सुरजकुमार माझीले गोल फर्काए । २३ औं मिनेटमा पुनः माझीले गोल गर्दै दोब्बर गोलको अग्रता दिलाए । लगत्तै साइनोका उत्तमले गोल गर्दै खेल बराबरी पारे । ७६ औं मिनेटमा पुनः उत्तमले गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच उत्तम शर्मा भए । 


प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । पुस २४ गते सञ्चालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ ।


प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल बेलबारी फुटबल क्लब र श्री हरैँचा स्पोर्टिङ क्लब र दोस्रो खेल सम्राट स्पोर्टिङ क्लब र मोतिराम स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए ।