विराटनगर-जिल्ला कारागार मोरङ शाखा भित्र रहेका कैदिबन्दीहरु असुरक्षित भएको भन्दै मानवअधिकारकर्मीैहरुले चिन्ता ब्यक्त गरेका छन । उनीहरुले कारागारमा बढेको असुरक्षाका बारेमा अध्ययन सुरु गरेका छन । 


मोरङ जिल्ला कारागारमा मात्रै डेढ बर्षमा १७ जनाले ज्यान गुमाएका छन । कारागार भित्र बढीरहेको मृत्यूलाई मानवअधिकारकर्मीले गम्भिर चासो लिएका छन् । आर्थिक बर्ष २०७७/०७८ मा ११ जनाको मृत्यु भएको छ । यसैगरी यो आर्थिक बर्षको अहिलेसम्ममा सात जनाको मृत्यु भएपछि मानवअधिकारकर्मीहरुले मंगलबार कारागार प्रशासनमा गएर बस्तु स्थितिको जानकारी लिएका छन । 


मंगलबार एड्भोकेसी फोरमकी अधिवक्ता रुक्मिणा दाहाल, मानवअधिकारकर्मी अधिवक्ता टीकाराम पोखरेल लगायतले मोरङ कारागार पुगेर कैदीबन्दीको अवस्था सोधपुछ गरेका थिए ।  कैदीबन्दीको मृत्य पश्चात पोस्टमार्टम नगरी अन्त्येष्टी गरिएकाले पनि कैदी बन्दीको मृत्यु बिषय गम्भीर रहेको उनीहरुको भनाईछ । कारागार प्रशासनले भने आफन्तले नै पोष्मार्टम नगरी लाश लाने गरिएको बताएको छ । 


नवनियुक्त जेलर महेन्द्रसिंह खड्काले आफू भर्खर आएको बताउँदै अब कैदीबन्दीको मृत्यु पश्चात पोस्टमाटम गरेर मात्र आफन्तलाई जिम्मा लगाउने बताए । मोरङ कारागार क्षमता भन्दा तीनगुण बढी कैदी बन्दी रहेका छन् । मोरङ कारागारको क्षमता  तीनसय जनाको रहेको छ । अहिले कारागारमा नौसय ६९ जना कैदीबन्दी छन् । 


जसमा दुई सय ५० जना पुरुष कैदी बन्दी मात्र अट्ने भएपनि अहिले कारागारमा आठसय ९६ जना पुरुष कैदी बन्दी रहेका छन् । ५० जनाको क्षमता रहेकोमा ७० जना महिला कैदीबन्दी छन् भने तीन जना आस्रित बालबालिका रहेका छन् । सबैभन्दा बढी लागू औषध प्रयोगकर्ताका कैदी बन्दी रहेका छन् । कारागारमा, क्षमता भन्दा तीनगुणा बढी कैदीबन्दी हुँदा उनीहरु सबैभन्दा बढी संक्रमणको जोखिममा रहेका छन् ।