विराटनगर - प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावित हुनसक्ने देखिएको छ । कोरोनाविरुद्धको भेरोसेल खोपका लागि सिरिन्जको अभाव भएपछि प्रदेशमा खोप अभियान प्रभावित हुन सक्ने अवस्था आएको हो हो ।


प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्दले विराटनगरमा मौज्दात रहेको सिरिन्ज सकिन लागेको जानकारी गराएको छ । केन्द्रबाट थप सिरिन्ज नआए कोभिडविरूद्धको खोप कार्यक्रम प्रदेश १ मा प्रभावित हुनसक्ने खतरा बढेको हो । २८ मंसिरमा प्रदेशको लागि ३ लाख ७७ हजार ८ सय ५० डोज भेरोसेल खोप आएको थियो । खोपका लागि सोही बरावरको सिरिन्ज आवश्यक पर्दछ । तर, केन्द्रदेखि अहिलेसम्म भेरोसेल खोपका लागि सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निमित्त कार्यालय प्रमुख शम्भु साहले जानकारी दिए ।


अहिले आपूर्ति केन्द्रमा ६० हजारको संख्यामा मात्र सिरिन्ज रहेको छ । ३ लाख १७ हजार ८ सय ५० डोज खोपका लागि सोही संख्यामा सिरिन्ज आवश्यक पर्ने कार्यालय प्रमुख साहले बताए । एक सातामा केन्दबाट सिरिन्ज प्रदेशमा नआए कोभिडविरुद्धको खोप कार्यक्रम प्रभावित हुनसक्ने बताइएको छ । बाँकी रहेको सिरिन्ज ३/४ वटा जिल्लामा वितरण गर्दा सकिने अवस्था छ ।


केन्द्रमै सिरिन्ज अभाव भएको कारणले प्रदेशमा नआएको कार्यालय प्रमुख साहले बताए । सिरिन्ज अभावका कारणले अहिले ३ लाख १७ हजार ८ सय ५० डोज भेरोसेल खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा थन्किएको छ । सिरिन्ज अभाव भएका कारणले ठूलो संख्यामा आएको खोप समयमै लगाउनबाट प्रदेशका नागरिक वन्चित भएका छन् । ‘सिरिन्ज सकिएको जानकारी हामीले केन्द्रमा पनि गराएका छौं,’ उनले भने, ‘माथि पनि नभएका कारणले नआएको भन्ने जानकारी आएको छ ।’


प्रदेशमा आएको खोप मोडर्ना खोपको लागि पर्याप्त सिरिन्ज भएपनि भेरोसेल खोपको लागि सिरिन्ज अभाव देखिएको हो । ‘भेरोसेल खोपको लागि प्रयाप्त मात्रमा सिरिन्ज मौज्दात छैन । अहिले ६० हजार सिरिन्ज मौज्दात रहेको छ । हामीलाई ३ लाखभन्दा बढी सिरिन्ज आवश्यक पर्दछ । सिरिन्ज अभाव भएको कारणले केन्द्रमा हामीले जानकारी गराएका छौं,’ उनले भने, ‘केही दिनमा केन्द्रबाट सिरिन्ज पठाउने हामीलाई मौखिक जानकारी आएको छ ।’