काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट दुई महामन्त्री पदमा थापा ३०२३ र शर्मा १९८४ मत ल्याएर निर्वाचित भए ।

महामन्त्रीका प्रतिस्पर्धीहरु डा. प्रकाशशरण महतले १५५०, प्रदीप पौडेलले १४०९, डा. मिनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०७ मत पाए । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सानेपास्थित पार्टी मुख्यालयमा भएको मतगणनाको अन्तिम मतपरिणाम घोषणा गरिसकेको छ ।

थापा डा. शेखर कोइराला प्यानल र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा लडेका थिए । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा थिए ।

प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी थिए । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।