काठमाडौं-नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार भएको उपसभापतिको मतगणनामा अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै खड्का र गुरुङ विजयी भएका हुन् । 


उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार झिनो मत अन्तरले पराजित हुनुभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार खड्का दुई हजार ७६ र गुरुङ १८ सय ६९ मत ल्याएर विजयी भए भने गच्छदार नौ मतले धनराजसँग पराजित भए । उनले १८ सय ६१ मत प्राप्त गरे ।

त्यसैगरी चन्द्र भण्डारीले १५ सय ५१ मत पाए । उपसभापति पदका उम्मेदवार महेश आचार्य, सुजाता कोइराला र दिव्यश्वरी शाह ठूलो मत अन्तरले पराजित भए । यसको औपचारिक घोषणा भने भइसकेको छैन ।


यसअघि नै पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भएकाा हुन् ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित भए ।