नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएपछि शेखर कोइरालाकाे दाैडधुप बढेकाे छ । दोस्रो चरणको निर्वाचन हुने भएपछि सभापतिका उम्मेदवार शेखर कोइरालाले अर्का उम्मेदवार प्रकाशमान सिंहसँग भेट गरेका छन् ।कोइराला मंगलबार बिहान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए ।

पहिलो चरणको चुनावमा सिंहले ३७१ मत ल्याएका थिए। कोइरालाले १७२९ मत ल्याएका थिए । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए । विमलेन्द्र निधिले २४९ मत ल्याएका छन् । अब सभापतिमा अन्तिम प्रतिस्पर्धा बढी मत ल्याएका देउवा र कोइरालाबीच हुने छ।

निधि र सिंह दुबैले कसलाई समर्थन गर्छन् उही सभापति निर्वाचित हुन्छन् । सिंह र निधि दुबैलाई आफूलाई समर्थन गर्न कोइरालाले अनुरोध गरेको उनीनिकट स्रोतले बतायो । निधिसँग कोइरालाले फोनमा कुराकानी गरिसकेका छन्। निधिलाई भेट्न कोइराला जाँदैछन् । निधि र सिंह दुबैले समर्थन गरे मात्र कोइरालाले आवश्यक पचास प्रतिशतबढी मत पुर्‍याउन सक्छन् ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सभापतिका लागि दोस्रो चरणमा मतदान हुने जानकारी दिए । उनका अनुसार मतदान आजै हुने र केही बेरमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइनेछ । आइतबार भएको मतदानमा चार हजार ६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत आवश्यक पर्छ ।