धनकुटाको पाख्रीवास नगरपालिका–४ घर भई मोरङ बूढीगङ्गा गाउँपालिका–६ बस्ने २६ वर्षीय रिजन दाहालको हत्या आरोपका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगङ्गा गाउँपालिका–६ डल्लेपुल बस्ने २६ वर्षीय धनबहादुर तमाङ रहेका छन् । 

उनलाई शनिबार प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी एरियाबाट २२ दिनपछि पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका तामाङ घटनाको मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । पुरानो रिसिइबीका कारण खुकुरी प्रहार गरी उनी फरार भएका थिए । 

प्रहरीले यसअघि रिजन हत्या प्रकरणमा पाँच आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–७ का २१ वर्षीय विक्रम खड्का, बूढीगङ्गा–६ का २४ वर्षीय ईश्वर लिम्बू, सोही ठाउँका १८ वर्षीय सुदीप उराउ, २० वर्षीय सुदीप उराउँ र इटहरी उपमहानगरपालिका–११ भागलपुर बस्ने २२ वर्षीय राजु तमाङ रहेका छन् । 

कात्तिक २८ गते राति ९ बजे बूढीगङ्गा गाउँपालिका–७ मा युवा समूहबीच ‘ग्याङ फाइट’मा आधा दर्जन बढीको समूहले रिजनको हत्या गरेका थिए ।