विराटनगर । ‘क्यारिङ’ गर्ने व्यापारीले भारतबाट अवैध रूपमा तस्करीको कपडा विराटनगरमा ल्याउने र उनीहरूले पूर्वका सहरमा पुर्याउने गरेको पाइएको छ । एक जना व्यापारीले तस्करी गरेर ल्याएको कपडा प्रहरीले शुक्रबार छापा हानेर बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो । विराटनगर–९ भानुटोलबाट सो कपडा बरामद भएको थियो ।

मोरङ प्रहरीले विनोद अग्रवालको घरमा भण्डारण गरेर राखेको ३५ बोरा (१९ लाख १३ हजार १ सय बराबरको) अवैध कपडा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको कपडा विराटनगरका व्यापारी बब्लु अग्रवालकोे हो । बब्लुले भारतबाट अवैध रूपमा तस्करी गरेर कपडा ल्याउने गर्दछन् । उनले क्यारिङ गराएर भण्डारण गर्ने र व्यापारीले भनेको ठाउँमा पु¥याउने जिम्मा लिने गर्दछन् । यसरी क्यारिङ गरेको कपडा गन्तव्यसम्म पुर्याउँदा उनले प्रतिथानका हिसाबले व्यापारीसँग पैसा लिने गर्दछन् । बरामद गरेको कपडा भेस्ट, साडी, कुर्ता सुरूवाललगायतका सामान रहेका छन् ।

बब्लुले तस्करी गरेर ल्याएको कपडा बसपार्क पूर्वमा रहेको उनका मामा विनोदको घरको गोदाममा ल्याएर राख्ने गरेका थिए । उनले भारतबाट तस्करीको कपडा ल्याउन दुई दर्जन भरिया प्रयोग गर्दछन् । कपडा गोदामसम्म भरियाले ल्याइपु¥याउँदा ५ सयदेखि एक हजार रुपैयाँसम्म दिने गरेका छन् । व्यापारीले निश्चित रकम क्यारिङ गर्नेलाई दिएपछि उनीहरूले भरिया प्रयोग गरेर तस्करीको कपडा विराटनगरसहित पूर्वको दुहबी, इटहरी, धरान, बेलबारी, पथरी, उर्लाबारीसम्मका व्यापारीको गोदाममा कपडा पु¥याउने गरेका छन् । अहिले क्यारिङ गर्नेले तस्करीको मुख्य नाका सुनसरीको अमडुवा, हुक्सीलगायतको नाका प्रयोग गर्दछन् । गिरोहले प्रयोग गरेको भरियाले तस्करीको सामान सीमावर्ती बजार जोगवनी हँुदै सीमा क्षेत्रका पसलमा मध्यरातको समयमा कटाउने गरेका छन् ।

बरामद गरेको कपडा क्यारिङमार्फत तस्करको समूहले अग्रवालको गोदाममा ल्याउने गरेका थिए । ‘भन्सार छलेर अवैध रूपमा कपडा ल्याउन व्यापारीले ‘क्यारिङ’ गर्नेको समूहलाई दिने गर्दछन्,’ जानकार स्रोतले भन्यो, ‘व्यापारीले प्रति पिस कपडाको हिसाबले क्यारिङ गर्नेलाई पैसा दिने गर्दछन् ।’ ‘कपडाका व्यापारीले भारतीय बजार गएर कपडा खरिद गरेपछि भन्सारमा राजस्व नतिर्न क्यारिङ गर्नेलाई रोज्ने गरेका छन्,’ स्रोतले भन्यो, ‘क्यारिङ गर्नेले पनि हाइरिक्समा कपडा गन्तब्यसम्म लिने जिम्मा लिने गर्दछन् ।’ व्यापारीले क्यारिङ गर्नेलाई कपडा जिम्मा लगाएपछि बाटोमा प्रहरीले समात्यो भने कपडाको मूल्य क्यारिङ गर्नेले व्यहोर्नुपर्ने हुन्छ । तर, ठूला व्यापारीको क्यारिङ गर्ने तस्करले प्रशासनसँग राम्रो सेटिङ्ग मिलाएको हुनाले पक्राउ गर्ने सम्भावना कम हुने स्रोतको भनाइ छ ।

‘कतिपय कपडाको क्यारिङ गर्नेले व्यापारीलाई धरौटी रकम पनि राख्नुपर्ने हुन्छ,’ लामो समयदेखि कपडाका क्यारिङ गरेर छोडेका एक जनाले नाम नबताउने सर्तमा भने, ‘कसैले विश्वासको भरमा काम गर्ने भएकोले धरौटी रकम पनि नमाग्ने गरेका छन् । तस्करीको कपडा थोकदेखि खुद्रासम्मको कपडा पसलमा आउने गरेको पाइएको छ । क्यारिङ गर्नेले तस्करीको कपडा मोरङको विराटनगर, उर्लाबारी, विराटचौक र सुनसरीमा इटहरी, इनरूवाका कपडा पसलहरूमा जाने गरेको छ । सुनसरीमा सबैभन्दा बढी इटहरीमा जाने गरेको स्रोतको भनाइ छ । ‘सुनसरीको धेरै कपडाका होलसेल पसलहरू भएकोले त्यहाँ तस्करीको कपडा जाने गरेको छ,’ स्रोतले भन्यो, ‘अहिले लाखौंको कपडा क्यारिङ गर्नेहरूले लैजाने गरेका छन् ।’