विराटनगर- मोरङको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । बुधबार बिहान बिबिएस दोस्रो वर्ष र तेस्रो वर्षका विद्यार्थीहरूले क्याम्पसको व्यवस्थापन सङ्कायतर्फको कार्यालयमा तोडफोड गरेका हुन् । 

तोडफोडबाट अफिसमा रहेको कम्प्युटर, कुर्सी, टेबलजस्ता भौतिक संरचनामा क्षति पुगेको विद्यार्थी नेता तरुण खवासले जानकारी दिए । उनका अनुसार बिहान साढे ७ बजे शिक्षकहरू आइनसकेको बेलामा असन्तुष्ट रहेका विद्यार्थीहरूको हुल क्याम्पस तोडफोडमा उत्रिएका हुन् । 

मङ्गलबार बिबिएमका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका थिए । दुई महिनाअघिदेखि आफूहरूले राखेको ल्याब बनाइदिने, शौचालय सफाइ गर्नेलगायतका माग राख्दै हिजो तालाबन्दी गरिएको थियो । तालाबन्दीका कारण बिबिएस सङ्कायको पढाइ हुन पाएको थिएन । सोही झोँकमा विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरिएको खवासले जानकारी दिए । 

यता, मानविकी सङ्कायका प्रमुख शुशील अधिकारीले विद्यार्थीको हुलले क्याम्पसमा तोडफोड गरेर भौतिक संरचनामा क्षति गरेको भन्दै भर्त्सना गरे । असन्तुष्ट रहेपनि वार्ताबाट समस्याको समाधान हुने भएपनि त्यसो नगरेकोमा उनको आपत्ति थियो ।