विराटनगर-विराटनगरस्थित मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । मोरङको इटहरा घर भएका कैदी नारायण थापाको बुधबार मध्यरातमा मृत्यु भएको जिल्ला कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

जबर्जस्ती करणी मुद्दामा २०७२ साल भदौ १ गतेबाट कैद भुक्तान गरिरहेका ४३ वर्षीय थापाको गए राति १ बजे मृत्यु भएको पोखरेलले जानकारी दिए । ६ वर्षयता भुक्तान गरिसकेका थापाको स्वास्थ्यमा यसअघि कुनै समस्या आएको थिएन । 

तर गए राति एक्कासि पेट दुख्ने र सास फेर्न गाह्रो भएको बताएपछि उनलाई कोसी अस्पताल लगिएको थियो । अस्पताल लैजानेक्रममा बाटोमा नै उनको मृत्यु भएको र अस्पतालका चिकित्सकले अस्पताल पुगेलगत्तै थापालाई मृत घोषित गरेको जेलर पोखरेलले जानकारी दिए ।