सडकमा थुपारिएको निर्माण सामग्रीका कारण विराटनगरमा हरेक महिना तीनदेखि चारवटा सामान्यदेखि गम्भीर प्रकृतिका सवारी दुर्घटना हुने गरेको ट्राफिक कार्यालय मोरङले जनाएको छ । मोरङमा चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा मात्रै आठ सय ८४ वटा सवारी दुर्घटना भएका छन् । जसमा १२ देखि १५ वटा सवारी दुर्घटना सडकमा थुपारिएका निर्माण सामग्रीका कारण भएको जिल्ला ट्राफिक प्रमुख चन्द्रबहादुर खड्काले बताए । 

फुटपाथसमेत मिचेर निर्माणजन्य सामग्रीहरू सडकमै भण्डारण गर्दा विशेषगरी बजारक्षेत्रका भित्री सडकखण्डहरूमा दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । त्यतिमात्र नभएर व्यक्तिगत तथा व्यवसायिक निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिटी, बालुवा, इँटा र फलामे छडलगायतका सामग्रीहरू सडकमै थुर्पादा सहरको सौन्दर्यतालाई समेत कुरूप बनाउँदै गएको छ । अझ, निर्माणका क्रममा गिटी, बालुवा, सिमेन्ट मुछ्दा सडक कुरूप बन्दै बन्नुका साथै पिच छिट्टै बिग्रने समस्या आउने गरेको छ । 

निर्माण सामग्रीको उचित व्यवस्थापन नहुँदा दुई चक्के सवारीसाधनहरू चिप्लेर लड्ने तथा घण्टौँ ट्राफिक जाम हुने समस्या दिनप्रतिदिन बढ्दै गएको विराटनगर–३ का सुवास ओझा बताउँछन् । ‘फुटपाथ र सडकको आधा भाग छेकर निर्माण सामग्री थुपार्दा पैदलयात्रीले बीच सडकबाट हिँड्नुपर्ने बाध्यता छ, यसबाट दुर्घटनाको जोखिम उच्च छ’, उनले भने, ‘यसमा प्रशासनले मात्र नभएर निर्माणको काम गरिरहेका हरेकले सचेत हुनु जरुरी छ ।’

यस्तै, विराटनगर–१४ का सफारी चालक केशव यादव सडकमा थुपारिएका निर्माण सामग्रीका कारण सवारी चलाउन असहज भएको बताउँछन् । आफ्ना कतिपय साथीहरू सडकमा भण्डारण गरिएका निर्माण सामग्रीका कारण दुर्घटनामा परेको सुनाउँदै उनी प्रशासनले कडा नियम ल्याउनुपर्ने सुझाउँछन् । 

मोरङ ट्राफिक प्रमुख खड्का स्थानीयलाई सम्झाइबुझाइ गर्दा पनि यो समस्याको दीर्घकालीन निकासको अभावमा अवस्था ज्युँको त्यूँ रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले अनेकौँ कोसिस गरिरहेका छौँ । तर पनि स्थानीयले अटेर गरेको अवस्था छ । चेतावनी दिएर हटाउँदा पनि सबै सचेत नभएका कारण सडकमा निर्माण सामग्री थुपार्नेक्रम घटेको छैन ।’ उनका अनुसार जनशक्तिकै अभावका कारण ट्राफिक प्रहरीले अपेक्षाअनुरूप काम नगरेको अवस्थामा जथाभावी थुपारिएका निर्माण सामग्रीका कारण आवत–जावतमा कठिनाइ र ट्राफिक जामको समस्या थपिएको दुखेसो गर्छन् ।

नगरक्षेत्रभित्रको सडक र फुटपाथ क्लियर गर्ने तथा अतिक्रमण हुनबाट जोगाउने सम्पूर्ण दायित्व र जिम्मेवारी स्थानीय निकायको हो । विराटनगर महानगरपालिकाले पनि प्राप्त जिम्मेवारीअनुसार सडक तथा फुटपाथ अतिक्रमण गर्नेलाई सम्झाइबुझाइ गर्ने तथा कानुनबमोजिम दण्ड–जरिवाना गर्दै आएको छ ।

आम नागरिक स्वयम् संवेदनशील नबन्दा महानगरको प्रयास पनि बालुवामा पानी हालेझैँ भएको महानगरका नगरप्रहरी प्रमुख राजन पौडेल बताउँछन् । उनी भन्छन्, ‘अनेकौँ कोसिस गरेका छौँ तर एउटालाई निर्माण सामग्री किन सडकमा राखेको भनेर प्रश्न गर्दा उसले अरूको उदाहरण दिन्छ । यो एउटा परम्परामा नै विकास भएको पाइएको छ । सचेतनाको अभाव भनौँ भने जानकार मान्छेले नै यस्तो काम गरिरहेको छ ।’

उनका अनुसार यसअघि पनि केहीलाई महानगरले कारवाहीसमेत गरिसकेको छ । अटेरी गर्नेलाई महानगरले एक हजारदेखि १० हजारसम्मको जरिवाना गर्ने गरेको छ । त्यसबाहेक सडकमा थुपारिएका सामग्री उठाउने र जरिवानासमेत लिने काम महानगरले गरिरहेको बताउँदै नगरप्रहरी प्रमुख पौडेले अब दीर्घकालीन योजना ल्याउने तयारीमा रहेको बताउँछन् । अब, निर्माण सामग्री सडकमा थुपार्नेको सूचीकरण गर्दै त्यस्ता व्यक्तिको घरको नक्सा पास गर्दा जरिवानास्वरूप अतिरिक्त जरिवाना थपिदिने योजना महानगरले बनाएको उनको भनाइ छ ।