विराटनगर-नेपालीहरुको घरआँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । तिहार दाजुभाइ तथा दिदीबहिनीको महत्वपूर्ण पर्व भएकाले यसलाई विशेष तवरले मनाउने गरिन्छ । विशेषगरी दाजुभाइ, दिदीबहिनी जमघट भएर भाइटीका लगाउने, मीठो खाने, कोसेली दिने चलन छ । तिहारको समयमा दाजुभाइलाई कोसेली दिन र खुवाउन दिदीबहिनीले विभिन्न चिल्ला परिकार पकाउने गर्दछन् ।


तिहारको चिल्लो र गुलियोको सेवन धेरै हुन्छ । यसबाट स्वास्थ्यमा असर पर्नसक्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्कर्मी मेलिना केसी चाडपर्वमा ख्याल नगर्दा स्वास्थ्य समस्या बढ्न सक्ने बताउँछिन् । तिहारमा पकाइने सेलरोटी, फिनी, अर्सा, अनारसा, झिलङ्गी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनपर्ने चिकित्सकको सुझाव छ ।


टीकापुर अस्पतालका डा सम्वाद खरेल तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुने बताउँछन् । “खानेतेलको गुणस्तरमा ध्यान दिने, सकेसम्म शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेले प्रयोग गर्नु राम्रो हुनुका साथै फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुपर्छ”, डा खरेल भन्छन्, ‘‘खानपानमा ध्यान नदिँदा चाडपर्वका समयमा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्छ । जथाभावी खानपानले मानिसलाई दीर्घकालीन असर पनि गर्न सक्छ ।”

डा खरेल चाडपर्वमा चिल्लो रोटीको प्रयोग कम गर्न फलफूल खाने, हरियो सागपात बढी खाएर, रमाइलो गरेर पनि चाडपर्व मनाउन प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन् । “स्वास्थ्य नै मानिसको जीवन भएकाले खानपानमा ध्यान दिऔँ,” उनी भन्छन् ।