विराटनगर-मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा बहुमत नरहेको भन्दै राजीनामा दिने जनाएका छन । प्रदेश १ को प्रदेश सभालाई सम्बोधन गर्दै आचार्यले राजीनामा दिने घोषणा गरेका हुन । 

उनको नेतृत्वमा एमालेले ६७ दिन सरकार चलाएको छ । उनले सरकारमा जो आएपनि रचनात्मक सहयोग गर्ने बताए । प्रदेश सरकारसंग युवाहरुको बढी अपेक्षा रहेको बताउदै उनले एमालेले थालेका राम्रा कामहरुको निरन्तरता हुनेमा आफु विश्वस्त रहेको जनाए । केही बेरमा उनले प्रदेश प्रमुख समक्ष राजीनामा दिदैछन । 

माधव नेपाल पक्षधर आचार्य मुख्यमन्त्री पद पाउने भएपछि ओलीको समर्थन गर्दै ओली पक्षमा लागेका थिए । एमाले विभाजित भएपछि भदौं १० गते उनी मुख्यमन्त्री बनेका थिए । पार्टी विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । तर सवैधानिक व्यवस्थालाई समते छल्दै आचार्यले ६७ दिन सम्म विभिन्न असंवैधानीक नियुक्ती गर्दै आफ्नो पद जोगाएका थिए । 

प्रदेश नं.१ को प्रदेश सभामा ९२ जना सांसद छन । बहुमतको लागि ४७ मत आवश्यक पथ्र्यो । तर आचार्यसंग ३९ मत मात्र थियो । एमालेका ४१ सांसद रहेपनि सभामुखले निणर्यक मत मात्र दिन पाउने र  एक सांसद फरार रहेकाले एमालेको ३९ मत मात्र थियो ।  

विपक्षी गठनबन्धनमा भने स्पष्ट ५० मत छ । जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने अहिले तटस्थ देखिएका छन ।