प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत नपाउने अवस्था आए राजीनामा दिने भएका छन् । मुख्यमन्त्री आचार्यले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । तर बैठकबाट विश्वासको मत नपाउने अवस्था आएमा मुख्यमन्त्रीले राजीनामा दिने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मतकुमार कार्कीले जनाएका छन् । 

आज मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दै छ । सोही बैठकमा आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर आजै टुङ्गो लाग्नेछ ।

प्रदेश १ मा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने सन्देश दिइसकेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।

अब, आजै मुख्यमन्त्रीको निर्णयका लागि दलका नेताहरूको बैठक बस्दै छ । राजीनामा गर्ने कि संसदको फेस गर्ने भन्ने विषयमा ११ बजे थाहा हुने कार्कीले बताए । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धनमा ५० सांसद छन् । सत्तापक्षसँग भने सभामुखसहित ४१ जना छन् ।

काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।