विराटनगर-मुख्यमन्त्री भिम आचार्यले भोली सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यतालिका छ । तर एमालेबाट फुटेर १० सांसद नेकपा एकिकृत समाजवादीमा गएपछि अल्पमतमा देखिएका आचार्यलाई आफ्नो पक्षमा बहुमत पुर्‍याउन निकै कठिन छ । 

पछिल्लो समय अन्य प्रदेशमा झै नेपाली कांग्रेसले प्रदेश १ मा पनि आलोपालोमा मुख्यमन्त्री हुनुपर्ने र बाँकी समयको आधामा नेपाली कांग्रेसबाट पनि मुख्यमन्त्री बन्न पाउनु पर्ने पार्टीको केन्द्रिय तहमा प्रस्ताव राखेपछि विपक्षीहरुको गठबन्धनमा खटपट देखिएको थियो । तर आलोपालो मुख्यमन्त्रीको मुद्धामा पछि पनि सहमति गर्न सकिने भन्दै पहिले आचार्यको सरकारलाई अल्पमतमा पार्न एकजुट भएर उनको विपक्षमा मतदान गर्ने विपक्षी दलहरु सहमत भएका छन । 

बैठक पछि प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मंगलबार मुख्यमन्त्री आचार्य लिने विश्वासको मतको  विपक्षमा मतदान गर्ने गठबन्धनमा सहमति भएको जानकारी दिए । अन्य विषयमा त्यसपछि पनि सहमति गर्न सकिने बताए । गठबन्धनमा कुनै समस्या नरहेको बताउदै उनले यस अघि आफूहरुले पार्टी भित्र अन्य प्रदेशमा झै आलोपालो गर्न किन नहुने भन्ने बिषय उठान गरेको खुलाए ।   

प्रदेश नं.१ को प्रदेश सभामा ९२ जना सांसद छन । बहुमतको लागि ४७ मत आवश्यक पर्छ । अहिले मुख्यमन्त्री आचार्यसंग ३९ मत मात्र छ । एमालेका ४१ सांसद रहेपनि सभामुखले निणर्यक मत मात्र दिन पाउछन भने एक सांसद फरार छन । 

विपक्षी गठनबन्धनमा स्पष्ट ५० मत छ । जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने अहिले तटस्थ देखिएका छन ।