विराटनगर-केन्द्रिय नेतृत्वले भनेजसरी आत्मसमर्पण गरेर सत्तामा नजाने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का सचेतक केदार कार्कीले बताएका छन । जनताले प्रतिपक्षको भूमिकामानै कांग्रेसलाई  हेर्न चाहेकाले तत्कालै सत्तामा जाने हतारो आफुहरुलाई नरहेको उनले प्रष्ट पारेका छन । 

यस अघि कांग्रेस सहित नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा र संघिय लोकतान्त्रिक मञ्च सहितका दल सम्मिलित भएर प्रदेश १ मा नयाँ सरकार गठन गर्ने सहमति समेत जुटिसकेको थियो । जस अनुसार मुख्यमन्त्रीले आइतबार आफ्नो पक्षमा बहुमत देखाउने गरि विश्वासको मत लिने कार्यक्रम थियो । तर नेपाली कांग्रेसकै कारणले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य एक साता पछि धकेलियो । 

केन्द्रिय राजनीतिको भागबण्डामा कर्णाली र बागमति प्रदेशमा आधा/आधा कार्याकाल मुख्यमन्त्री चालउने गरि सहमति हुने तर प्रदेश १ मा दुवै प्रदेशको भन्दा संख्याका हिसाव ठुलो र प्रमुख प्रतिपक्षको भूमिकामा रहेको काँग्रेसले सरक्क मानिदिनु पर्ने अवस्थालाई अस्विकार गरिने उनले बताए । 

उनले नेपाली कांग्रेसले मुख्यमन्त्री सहित संख्याका आधारमा अरु भन्दा बढी मन्त्रालय पाएमा मात्र सत्ता साझेदारीका लागि तयार रहेको तर हिनता बोधका साथ सत्तामा अरुलाई काँध हाल्न नजाने बताए । ‘मैले झण्डावाला गाडीमा हिडेर बाँकी कांग्रेसका कार्यकर्ताले हिनताबोधमा सिर झुकाउने पर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।’ कार्कीले भने‘पार्टी र कार्यकर्ता बचाउन कांग्रेसले आत्मसम्मान गुमाउनु हुदैन, राजीव कोइरालाको ठाउँमा अन्यलाई मुख्यमन्त्री बनाउन सकिन्छ तर आफ्नो इतरको नेता छैनन भनेर प्रदेश १ मा अर्को दललाई बुइचढ्न दिइदैन ।’

मुख्यमन्त्री भीम आचार्यले सदनमा विश्वासको मत लिने दिननै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार प्रदेश १ को भ्रमणमा आएका कारण प्रदेश सभाको बैठक सार्न नेपाली कांग्रेसले आग्रह गरेपछि बैठक कात्तिक १५ गते सम्मलाई सरेको छ । तर बाहिर प्रधानमन्त्रीको भ्रमणलाई कारण देखाइएपनि शेरबहादुर देउवा पक्षले आफ्नो पक्षिय मुख्यमन्त्रीका उम्मेदवार नभएपछि नेकपा समाजवादीलाई मुख्यमन्त्री दिने प्रस्ताव प्रति प्रदेश १ मा कांग्रेस बृत्तमा असन्तुष्टी चुलिएको थियो । जस्को कारण प्रदेश सभाको बैठक एक साता पछि सारिएको हो । 

प्रदेशसभा सचिवालयले सुचना जारी गरि आगामी बैठक कात्तिक १५ गतेका लागि बैठक बस्ने सुचना जारी गरेको छ । नेपाली कांग्रेसको प्रदेश सभामा २१ सांसद छन । प्रतिपक्षको रुपमा बढी सिटसंख्या रहेको काँग्रेसले १० सिट भएको नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिनेकुरामा असहमति प्रकट गरेको हो । केन्द्रिय सरकारमा मन्त्री मण्डल विस्तार गर्दा माधव नेपाललाई प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दिनेगरि थामथुम पारेपछि त्यसको असर प्रदेश स्तरमा देखिन थालेको हो । 


एमालेका ४१ सांसद रहेको प्रदेश १ मा उस्को मात्रै एकलौटी बहुमत पुग्दैन । अन्य दलले सत्तासाझेदारी गर्न एमालेसंग अस्वीकार गरेपछि बर्तमान मुख्यमन्त्री भीम आचार्यको सरकारले ढल्ने निश्चित भएपनि गठबन्धन दलहरु बिच उत्पन्न असमझदारीले भने तत्काल सरकार परिवर्तन हुन्छ या हुन्न भन्ने दोधार सृजना गरेको छ । अहिले प्रतिपक्षमा नेका २१ माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपा ३ र संघिय लोकतान्त्रिक मञ्च १ गरि ५० जना संसाद छन । सत्ता पक्षमा ४१ भएपनि सभामुख १ र फरार सांसद घटाउदा एमालेका ३९ सांसद मात्र रहेका छन । जुन अल्पमत हो ।