प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितलाई राहतको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज पूर्व आएका देउवाले आइतबार बिहान सशस्त्र प्रहरी बलको कार्यालय पकलीमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग भेटघाट गर्दै बाढी पीडितलाई राहतको व्यवस्था मिलाउने जनाएका हुन् ।
मङ्गलबार आएको बाढीका कारण समस्यामा परेका पीडितको लागि सरकारले उचित राहतको व्यवस्था मिलाउने बताउँदै उनले काठमाडौँ पुगेपछि राहतको व्यवस्था मिलाउने पनि जनाए । बाढी पीडितको पक्षमा सरकार रहेको उनको भनाइ छ ।
भेटघाटका क्रममा कोसी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले ज्ञापन पत्र बुझाएका छन् । बाढी डुबानको कारण ठुलो मात्रामा धनजनको क्षति भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवा सरकारको ढुकुटीमा बजेट नभए पनि विदेशी दातृसंस्थाको सहयोगमा राहत उपलब्ध गराउने बाचा गरे ।

