नेपाली काङ्ग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि काङ्ग्रेसले बैठक रोक्न माग गर्दै प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको हो ।

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दै छ । नेकपा एमाले विभाजनको दोस्रो दिन गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । 

यसैबीच काङ्ग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि काङ्ग्रेसले आजको बैठक रोक्न माग गरेको स्रोतले जनाएको छ । तथापि, काङ्ग्रेसको निवेदनमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको छ ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले  प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको बताए । यता, सभामुख प्रदीपकुमार भण्डारीले बैठक रोक्न अस्वीकार गरेका छन् ।