शुक्रबार (भोलि) दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । भोलिको बैठकमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि संसदमा प्रस्ताव टेबल गर्ने छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका पूर्वमन्त्री  हिक्मतकुमार कार्कीका अनुसार शुक्रबार संसदमा प्रस्ताव टेबल गर्ने तयारी छ । प्रस्ताव टेबल भए पनि मतदान हुने–नहुने टुङ्गो नभएको उनले बताए । दसैँ मनाउन गृहजिल्ला पुगेका प्रदेश सांसदहरू राजधानी आइनपुगेका कारण मतदान प्रक्रिया ढिलो हुनसक्ने उनको भनाइ छ ।

‘पहाडी जिल्लाहरूको बाटो बिग्रिएका छन्,’ उनले भने, ‘पहाडी जिल्लाका सबै माननीय सदस्यहरू  राजधानी आइपुगिसक्नु भएको छैन ।’ शुक्रबारका लागि आह्वान भएको प्रदेशसभा बैठकमा विश्वासको मत टेबल हुनैपर्ने संवैधानिक बाध्यता छ । तर सरकार भने मतदान पर धकेल्ने प्रयासमा लागेको छ । 

असोज २४ मा बसेको संसद् बैठकमा सभामुखले २५ गतेका लागि अर्को बैठक तोकेका थिए । असोज २४ गते आइतबारको संसद् बैठकमा सोमबार एक बजेका लागि सभामुख आफैले प्रदेशसभाको बैठक हुने निर्णय सुनाएका थिए । भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको छ ।