विराटनगर- मोरङ उर्लाबारीको मदन भण्डारी स्मृति प्रतिष्ठानले समाजमा विशेष योगदान दिएका ब्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण अभियान शुरु गरेको छ । प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको वारेमा ग्रन्थ प्रकाशित गरि उनीहरुको योगदानलाई जीवन्त राख्ने अभियान संचालन गरिरहेको प्रतिष्ठानका अध्यक्ष गुरु वरालले जानकारी दिए ।

उनका अनुसार अहिले सम्म प्रतिष्ठानले तस्वीरमा मदन भण्डारी, मदन भण्डारी स्मृति ग्रन्थ भाग १, मधुमल्लाका तिलवहादुर राई स्मृति ग्रन्थ ‘मिक्लाजुङ्गको मोती’, मोरङ वयरवनका काशीनाथ दाहाल स्मृति ग्रन्थ ‘आदर्शको आकाश’,मित्रलाल सुवेदी स्मृति ग्रन्थ ‘स्वाभिमानको पहाड ’ प्रकाशित गरिसकेको छ । विकास अभियन्ता कृषि विज्ञ खगेन्द्र सिग्देलको आत्मवृतान्त आफनै प्रतिविम्व प्रकाशित गरिएको छ । तिलवहादुर राई स्मृति ग्रन्थ मिक्लाजुङ्गको मोती, काशीनाथ दाहाल स्मृति ग्रन्थ आदर्शको आकाश हालसालै विमोचन गरिएको छ । 

प्रतिष्ठानले मदन भण्डारी स्मृति ग्रन्थ भाग २, साविकको सुन्दरपुर गाविसका पूर्वअध्यक्ष कृष्णप्रसाद दाहाल स्मृति ग्रन्थ, लेटाङका डा रामविनोद सिंह स्मृति ग्रन्थको अन्तिम तयारी गरिरहेको छ । पुस्तकहरुको सम्पादन साहित्यकार अनिल पौडेलले गरिरहेका छन् । संकलन संयोजन जयन्ता पोखरेलले गरिरहेको प्रतिष्ठानले जनाएको छ । जनता र  आमूल परिवर्तनको पक्षमा गाउ–गाउवाट लड्ने निष्ठावान कर्मठ योद्धाहरुको इतिहासलाई उत्खनन गरेर प्रकाशमा ल्याउने कार्य हामीले नगरे कसले गर्छ भन्ने निश्कर्ष निकालेर प्रतिष्ठानले यो कार्य जारी राखेको अध्यक्ष वरालले बताए ।

समाजमा विशिष्ठ योगदान दिएका ब्यक्तिहरुको इतिहास वाहिर ल्याएर नयाँ पुस्तालाई शिक्षित गर्न जरुरी रहेको उनको भनाई छ । प्रतिष्ठानले सुरुमा ब्यक्ति पहिचान गर्ने, व्यक्तिका वारेमा खोज अनुसन्धान गर्ने र तथ्यहरुको आधारमा सत्यलाई प्रकाशमा ल्याउने कार्य जारी राख्ने अध्यक्ष वरालको भनाई छ ।