विराटनगर - मोरङ उर्लाबारीका सनम शाक्य हत्यासँग जोडिएको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाको फैसला मंगलबार हुँदैछ । जिल्ला अदालत मोरङले मुद्दाको फैसला गर्नेछ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासबाट गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थियो । अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले प्रतिवादी र वादी नेपाल सरकार पक्षका कानुन व्यवसायीबीच प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि नै सकिएकाले आज मुद्दाको फैसला हुने बताए  ।

उनका अनुसार अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा दिउँसोसम्ममा मुद्दाको फैसला हुने छ । अघिल्लो आइतबारबाट मोरङ अदालतमा मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती मुद्दाका मुख्य प्रतिवादी हुन् । गोरे र नेपाल प्रहरी उच्च अधिकारीसहित मुद्दामा ७७ जना प्रतिवादी छन् । ५५ जना पक्राउ परे पनि २२ जना अझै फरार छन् । फरार रहेकाहरुको हकमा भने मुद्दा मुल्तवीमा रहने छ । मुद्दाका प्रतिवादीमा उच्च प्रहरी अधिकारी, तस्करीको सुनका लगानीकर्ता, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न एयरलाइन्समा कार्यरत रहेकाहरु एवम् गोरेको समूहका सदस्यहरु रहेका छन् ।

अनुसन्धानबाट सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त गोरे रहेको पत्ता लागेको छ । उनकै योजना र धनाड्य व्यापारीको लगानीमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको थियो । तस्करीका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी अधिकारीले पैसा लिएर बाटो फराकिलो पारिदिएका थिएका थिए । जसका कारण तस्करको गिरोह सहजै अन्तर्राष्ट्रिय विमानस्थल हुँदैन दुबईबाट नेपालतिर सुन तस्करी गर्न सफल भएको हो । तस्करीको सुन भने अझै फेला परेको छैन । सुन भारत पुर्याइएकाले फेला नपरेको बताइएको छ । दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते नेपाल ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेको समूहले मोरङ उर्लाबारीका सनमको हत्या गरेको हो ।

२०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै हत्या गरिएका उनको शव भोलिपल्ट विराटनगरबाट बरामद गरिएको थियो । सनम हत्याको अनुसन्धान गर्ने क्रममा गोरेको समूहले ठुलो परिणाममा सुन तस्करी गरिरहेको पत्ता लागेको हो । सनम सुन तस्करका भरिएका थिए । घटनाको अनुसन्धान सकिएपछि जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ शीर्षकमा मुद्दा दर्ता गरिएको थियो । सरकारी वकिल कार्यालय मोरङले १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको भन्दै त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरेको हो ।