विराटनगर-  प्रहरीले एक जना भारतीय नागरिकलाई बालक अपहरण गरेको आरोपमा विराटनगरबाट पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बालकलाई अपहरण गरेर भारत लैजान लागेको खुलेपछि भारत अररियाका ४० वर्षीय राजु मण्डलाई पक्राउ गरिएको बताए ।

उनका अनुसार विराटनगर महानगरपालिका–८ अशोक चोकका १२ वर्षीय रोहित शर्मालाई अपहरण गरेर भारततिर लैजाँदै गरेको भनेर मण्डलविरुद्ध किटानी जाहेरी परेको छ । रोहितका बुवा ३५ वर्षीय श्याम शर्माले मण्डलविरुद्ध जाहेरी दिएकाछन । प्रहरीले मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउनलाई अनुसन्धान अघि बढाउन सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेको छ ।

बालकलाई अपहरण गर्नुको कारण भने खुल्न नसकिरहेको र घटनाको अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डीएसपी श्रेष्ठले बताए । रोहितका बुवा श्याम घरनजिकैको फर्निचरमा काम गर्ने काठ मिस्त्री हो । फर्निचरमा काम गरिरहेका बुवालाई चिया पुर्याएर घर फर्कने क्रममा रोहित गत शुक्रबारसाँझ ५ बजेतिर हराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभिभावकले खोजी गर्दै जाँदा भारततिर लैजाँदै गरेको अवस्थामा राति ११ः३० बजेतिर उनी फेला परेका हुन् । अभिभावकले भेट्टाउँदा बालक अर्धचेत अवस्थामा रहेको बताइएको छ । मण्डल बालक रोहितसँगै भेटिएको खुलेको छ ।

अभिभावकले रोहितलाई घर ल्याउन खोज्दा मण्डलले आफ्नो भान्जा भएकाले लैजान नदिने भनेर अवरोध गरेको प्रहरीले जनाएको छ । त्यसपछि मण्डललाई प्रहरीको जिम्मा लगाएर अभिभावकले रोहितलाई फर्काएर ल्याउँदै उपचारका लागि लगेको खुलेको छ । बालकले हल्ला गर्ने र चिच्याउने भएकाले नशालु पदार्थ खुवाएर भारततिर लैजान खोजिएको हुनसक्ने डीएसपी श्रेष्ठले बताए । रोहितका बुवा श्यामले अझैसम्म बालक त्रसित अवस्थामा रहेको र कोही नयाँ मान्छे देख्नसाथ डराउने एवं आत्तिने गरिरहेको बताएकाछन ।