मोरङका ६ स्थानीय तहमा नेपाली काङ्ग्रेस नेतृत्वको टुङ्गो लागेको छ । काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नगरअधिवेशन भएकामध्ये कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका र बेलबारी र सुनवर्षी नगरपालिकाको नेतृत्व टुङ्गो लागेको हो । 

कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी भएका छन् । उनले ८४ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी हरिनारायण माझीले ४४ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले चार मत प्राप्त गरे । 

नेपाली काङ्ग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । शम्भु भट्टराईलाई पराजित गर्दै उनी विजयी भएका हुन् । लिम्बूले एक सय ३६ मत प्राप्त गरे । भट्टराईले ९४ मत प्राप्त गरेका थिए ।

कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् । दाहालले ७३ मत प्राप्त गरेका छन् । सभापतिका उम्मेदवार दीपक चौलागाईले ७१ मत प्राप्त गरे । 

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् । राईले एक सय ३४ मत प्राप्त गरेका थिए । सभापतिका उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरेको नेपाली काङ्ग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए ।

सुनवर्षी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका छन् । उनले एक सय पाँच मत प्राप्त गरे । सभापतिका उम्मेदवार महेश्वर राजवंशीले ८९, वैजनाथ झाले आठ मत प्राप्त गरेको जिल्ला सचिव घिमिरेले बताए ।

धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन् । पाण्डेले ८३ मत प्राप्त गरे । सभापतिका उम्मेदवार बासुदेव रायले ३७ मत प्राप्त गरे ।