विराटनगर,- नेपाली कांग्रेसको विराटनगर महानगरपालिकाको सभापतिमा चार जना युवा नेताले दाबी गरेकाछन । कोइराला परिवारको प्रभाव क्षेत्र मानिने विराटनगर प्रदेश १ को एउटा मात्रै महानगरपालिका हो । नगर सभापतिमा कांग्रेसका युवा नेता दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्ण कार्कीले उम्मेदवारी दिने तयारी गरेकाछन  ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आकांक्षीका लागि मनोनयन गर्दा गराउन शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्मलाई तोकिएको छ । निर्वाचनबाट ४ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । महानगरको सभापतिमा दाबी प्रस्तुत गर्नेमध्ये चापागाईं र अरुण न्यौपाने विराटनगर–२ का, कार्की विराटनगर–३ र सन्तोष न्यौपाने विराटनगर–५ का बासिन्दा हुन । सभापतिका आकांक्षी चारै जना सामाजिक र राजनैतिक गतिविधीमा सक्रिय छन । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील चापागाईंलाई कांग्रेस नेता डा. शेखर कोइराला लगायतको समर्थन छ । यसअघिको अधिवेशनमा पराजित बनेका चापागाईंले दोस्रो पटक सभापतिको दाबी गरेकाहुन । उदार लोकतन्त्रको अभ्यासका लागि युवाहरुलाई अभ्यस्त बनाउने जिम्मा लिएकाले पनि आफू जित्नेमा निश्चित भएको उनको भनाइ छ । अरुण न्यौपाने विराटनगरको मेयरमा भीम पराजुली निर्वाचित भएपछि पार्टीमा महानगरको कार्यबहाक सभापतिको जिम्मेवारी सम्हालेका नेता हुन । सामाजिक क्षेत्रमा पनि सक्रिय उनी मेयर पराजुली निकट मानिन्छन । न्यौपानेलाई कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको पनि साथ रहेको बताइन्छ । प्रतिनिधिको साथ र नेताहरुको सहयोगका कारण आफू जित्नेमा विश्वस्त रहेको उनले बताए । सभापतिका अर्का दाबेदार सन्तोष न्यौपानेलाई कांग्रेस नेता अमृत अर्यालको समर्थन छ । विद्यार्थी हुँदै उनीँ पार्टी राजनीतिमा होमिएकाहुन  ।

यसअघि न्यौपाने दुई कार्यकाल नेपाल विद्यार्थी संघको विराटनगर सभापति बनिसकेका छन । नेविसंघ मोरङका पूर्वसचिव उनीँ तरुण दल विराटनगरको निवर्तमान नगर सभापति पनि हो । युवालाई नेतृत्वको अवसर दिनुपर्ने र कांग्रेसमा पुस्तान्तरणको मुद्दा उठाउँदै चुनावी मैदानमा उत्रीएका उनले युवाको साथ लिएर निर्वाचन जित्नेमा ढुक्क रहेको बताए । सभापतिका दाबेदार कार्की गगन थापा र कृष्णप्रसाद सिटौला निकट मानिन्छन । नेवि संघबाट राजनैतिक यात्रा सुरु गरेका  कार्की नेवि संघको निवर्तमान केन्द्रीय सहमहामन्त्री पनि हुन । लोकप्रिय छवि बनाएर सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले आफ्नो विजय निश्चित भएको उनले बताए । विराटनगरको वडा तहमा चारै जना दाबेदारको पकड राम्रो मानिन्छ ।

विराटनगरमा कांग्रेसका ६ सय ४८ प्रतिनिधि रहेको बताइएको छ । जसमध्ये शेखर कोइरालाको निर्वाचन क्षेत्र नम्बर ६ मा २ सय २७, महेश आचार्यको निर्वाचन क्षेत्र नम्बर ४ मा २ सय ४५ र अमृत अर्यालको निर्वाचन क्षेत्र नम्बर ५ मा ९६ जना प्रतिनिधि छन् । यसबाहेक तत्कालीन फोरम लोकतान्त्रिक र राप्रपाबाट कांग्रेस प्रवेश गरेका र पक्षधरता नखुलेका जनप्रतिनिधिहरु ८० जना छन् । कांग्रेसको निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर १ र ३ को भूमिका सबैभन्दा महत्वपूर्ण मानिन्छ । विराटनगरको दुई उपसभापतिमा प्रवीण जोशी, निरज कोइराला र धनराज तामाङले उम्मेदवारी दिने जनाएकाछन । दुई सचिवका लागि सुजन दाहाल, तेजिन्द्र भट्टराई, झुमा निरौला गौतम र पेशल ढुंगेलले दाबी प्रस्तुत गरेकाछन । दुई सहसचिव पदका लागि सचिन पोखरेल, दिवश नेपाल, गिरिशकुमार कोइराला र शिव पराजुली ‘शिशिर’ बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यसैबीच विराटनगरसहित मोरङ जिल्लाभरि शनिबार पालिका स्तरीय (गाउँ–नगर) अधिवेशन हुँदैछ । मोरङ संस्थापन इतर समूहको बलियो पकड भएको जिल्ला मानिन्छ । तर नेताहरु भने गुटभन्दा पनि कांग्रेसलाई जिम्मेवारीसहितको नेतृत्व बहन गर्ने व्यक्ति आवश्यक रहेको बताउँछन् । प्रदेश १ का १३ वटा जिल्लामा कांग्रेसको गाउँ–नगर अधिवेशन यसअघि नै भइसकेको छ । मोरङमा भने हुन सकिरहेको थिएन । विराटनगर महानगरसहित जिल्लाका १७ वटै स्थानीय तहमा भोलि अधिवेशन हुँदै छ । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ । शुक्रबार बिहान मतदाता नामावली प्रकासन गरिएको छ । १९ वटा वडा रहेको विराटनगरमा हुने अधिवेशनको मतदान केन्द्र जिल्ला पार्टी कार्यालयमा तोकिएको छ ।

अधिवेशनका लागि मोरङका १७ वटै पालिकामा शुक्रबार ११ बजेदेखि ३ बजेसम्मलाई मनोनयन दर्ताको समय छुट्याइएको छ । त्यसपछि ५ बजेसम्म दाबी विरोध, मनोनयन फिर्ताको समय दिइने मोरङ जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए । उनका अनुसार साँझ ५ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकासन गरिने छ । शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मलाई मतदानको समय तोकिएको कार्कीले बताए । पार्टीको विधान अनुसार प्रत्येक पालिकामा  सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ जना निर्वाचित हुने छन् । कोषाध्यक्षको भने पछि निर्वाचित कार्यसमितिले मनोनित गर्ने प्रावधान छ ।