विराटनगर - उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायी कलामसिंह लामामाथि खुकरी प्रहार भएको छ । आइतबार उच्च अदालत विराटनगरको गेटमा ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो । आज मध्याह्नतिर काभ्रे घरका इँटा व्यवसायीमाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय माेरङले जनाएको छ । 

वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुगेपछि लामामाथि दुई जना युवाहरूले एक्कासि खुकुरीले आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ । 

काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीका अनुसार लामामाथि खुकुरी प्रहार गर्ने विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीलाइ नियन्त्रणमा लिएको छ। 

मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठका अनुसार फरार एक जनाको खोजी कार्य तीव्र पारिएको छ । यद्पि,  खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन । घाइते लामाको उपचार विराटनगर अस्पतालमा उपचार भइरहेको छ । उनकाे अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।