विराटनगर-  मोरङमा नेपाली कांग्रेसको पालिका (गाउँ/नगर) अधिवेशन रोकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार पालिका स्तरीय अधिवेशनको मिति तय भएको थियो । वडा अधिवेशन सम्पन्न भएका विभिन्न जिल्लामा पालिका अधिवेशन भइरहे पनि मोरङमा भने रोकिएको छ । मोरङ जिल्लाका निर्वाचन अधिकृत केदार कार्कीका अनुसार वडा अधिवेशनको नतिजा समयमै सार्वजनिक गर्न नसकिएकाले र पार्टीले गरेका केही महत्वपूर्ण निर्णयसँगै शनिबार जिल्लाभित्रका गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न नसकिएको हो ।

मोरङमा १ सय ५९ वटा वडा छन् । यो समाचार तयार पर्दासम्म अधिवेशन भएकामध्ये १ सय ७ वटाको मात्रै मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको जानकारी कार्कीले दिए । वडा अधिवेशनको मतपरिणाम सार्वजनिक गर्न ढिला भएकाले समय अभाव हुँदा पालिका स्तरीय अधिवेशन पछि सार्नुपर्ने अवस्था आएको उनले बताए । केन्द्रबाट आएका केही नयाँ निर्देशनसहितको सूचना टाँस गरेरै अधिवेशन गर्न नसकिएको जानकारी दिइएको उनको भनाइ छ । उनका अनुसार तयारी राम्ररी नपुगेकाले र धेरैजसोले मतदान प्रक्रियाका बारेमा राम्ररी कुरा नबुझेकाले पनि पालिका अधिवेशन पछि सारिएको हो ।

मतदात प्रक्रियामा देखिएका कमिकमजोरीलाई हटाएर पालिका स्तरीय अधिवेशन गरिने कार्कीले बताए । कार्कीले महानगरपालिका, नगरपालिका र गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्नका लागि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुर्नैपर्ने र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकाले मात्रै अध्यक्षको प्रस्तावक एवं समर्थक बस्न पाउने प्रावधान राखिएको बताए । उपाध्यक्ष, सचिव र सहसचिव लगायतका पदमा क्रियाशिल सदस्यता भएकाले पनि उम्मेदवारी दिन पाउने उनको भनाइ छ । कार्कीले पालिका तहको अधिवेशनका लागि आगामी असोज १५ गते उम्मेदवारी मनोनयन र १६ गते निर्वाचनको मिति तय गर्न आग्रह गरेर केन्द्रमा प्रस्ताव पठाइएको बताए । ‘नयाँ मितिको प्रस्ताव गरेर पठाइए पनि केन्द्रबाट निर्णय भएर आउन बाँकी छ,’ उनले भने, ‘तर अधिवेशन असोज १५ र १६ भित्रमा सक्ने तयारी छ ।’ यसैबीच विराटनगर महानगरपालिकाका मेयर एवं पार्टीका महानगर सभापति भीम पराजुली र उपमेयर इन्दिरा कार्की वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा विजयी  भएका छन ।

मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर एवं पार्टीका जिल्ला सचिव शिव ढकाल, लेटाङका मेयर शंकर राई, रतुवामाईका मेयर रविन राई, केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की, र मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल लगायत क्षेत्रीय प्रतिनिधि बनेकाछन । त्यस्तै क्षेत्रीय प्रतिनिधि बन्नेहरुमा नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राई, कांग्रेस मोरङका विद्यार्थी शाखा प्रमुख राजु मास्के लगायत रहेकाछन । पार्टीको जिल्ला सभापतिको दौडमा रहेका  यदु विष्ट पथरीशनिश्चरे नगरपालिकाबाट क्षेत्रीय प्रतिनिधि बनेका छन । कांग्रेस विराटनगर महानगरपालिकाको सभापतिको दौडमा रहेका भएकामध्ये दीपक चापागाईं, सन्तोष न्यौपाने र अरुण न्यौपाने क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी र नेपाल ट्रेड युनीयन कांग्रेस मोरङकी महिला विभाग प्रमुख झुमा निरौला पनि क्षेत्रीय प्रतिनिधि बनेकी छन । त्यस्तै तत्कालीन फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य नन्दु सरदार, विराटनगरमा बस्दै आएका खोटाङ कांग्रेसका पूर्वजिल्ला सभापति शिव बस्नेत, मोरङ जिल्ला सभापतिका आकांक्षी मदन संग्रौला, नेपाल विद्यार्थी संघ मोरङका पूर्वसचिव विमल संग्रौला, पूर्वमहाधिवेशन प्रतिनिधि शान्ता रिजाल, कांग्रेस मोरङका अनुशासन शाखा प्रमुख बाबुराजा कोइराला वडा अधिवेशनमै पराजित  भएका छन ।

पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले लेटाङबाट र नेवि संघका पूर्वकेन्द्रीय सदस्य हरि भट्टराईले विराटनगरबाट क्षेत्रीय प्रतिनिधिमा हार बेहोरेका छन । विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता उद्धव अर्याल पनि बुथ सभापतिमा पराजित भएका छन ।