विराटनगर-  स्वचालित हतियारको आडमा लुटपाट आतंक मच्चाउँदै आएको संगठित गिरोहका सात जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध विभिन्न चारवटा शीर्षकमा मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै सात जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । अभियुक्तविरुद्ध हातहतियार खरखजना, डाँका उद्योग, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता भएको जानकारी अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले दिए ।

उनका अनुसार जिल्ला अदालत मोरङका न्यायाधीश सुनर्दशन लामिछानेको इजलासमा प्रतिवादीको बयान लिने काम भइरहेको छ । अभियुक्तहरुको बयान सकिएपछि वादी र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस भएर अदालतबाट मुद्दाको आदेश आउने धमलाले बताए । उनँका अनुसार प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा अर्थात साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश अदालतबाट आउने छ ।

अदालतमा संखुवासभा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, ३० वर्षीय चिरञ्जिवी राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष चौधरी, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुर घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राईविरुद्ध मुद्दा दर्ता भएको हो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलमा खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा गरिएको लुटपाटको असफल प्रयासमा यही गिरोहको संलग्नता पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए ।